उम्मेवारलाई खुल्ला पत्र

प्रिय उम्मेदवार
म घरमा छैन, मेरो घरमा बुढा बा आमा हुनुहुन्छ । यतिखेर मेरो गाउँ घरमा चुनाव प्रचारको सिलसिलामा पुग्नु भएका तस्विरहरु तपाईंका कार्यकर्ताहरुले सामाजिक संजालमा पोष्ट गरिएका देखेको थिएँ । लाग्यो, लामै समयपछि चुनावको रौनकले तपाईंलाई गाउँघरको यादले दिलाएछ । किन यतिबिधि निष्ठुरी हुनु भएको ? मलाई त लागेको थियो, काठमाडौँ बसाइँ–सराइ गरेपछि कतै माया पनि सा¥यौ कि भनेर । आज हाम्रो याद तपाईंलाई कसरी आयो त ? मैले तपाईंलाई मेरो घरमा विकसित केही पछिल्लो परिस्थितिको बारेमा जानकारी गराउन चाहेको छु । आशा छ, मनन् गर्नु हुनेछ ।
पहिलो संविधानसभाको चुनावमा मेरो बूढो बासँग तपाईंको कुराकानीबाट प्रसङ्ग सुरु गर्न चाहन्छु । त्यतिखेर भोट माग्दै हाम्रो कटेरीमा आउनु भएको थियो, जतिखेर हामीले कटेरीमा नयाँ छानो हालेका थियौँ । त्यतिखेरको बासँगको तपाईंको सम्बाद सम्झिन्छु ।
‘बा नमस्कार ।’ तपाईंले अभिबादन गर्नु भएको थियो ।
उहाँले जीवनमा कुनै नौलो मान्छेको हातबाट अभिवादन ग्रहण गरेको त्यो दुर्लभ क्षण थियो ।
‘के फेरि चुनाव आएको हो ?’ बाले मसँग कानेखुसी गर्नु भएको थियो । यसवाट बुझ्न सकिन्थ्यो कि बाले अघिल्लो चुनाबहरुमा पनि तपाईंको दुई हात जोडेको नमस्कार खाइसक्नु भएको रहेछ ।
‘हो बा ।’ मैले चुनाव आएको कुरा बालाई बताएको थिएँ ।
चुनाबको नाम सुन्ने बित्तिकै उहाँ एक फिट उफ्रिनु भयो ।
‘मैले चुनाबमा धेरै भोट हालेको छु । चुनाब अघि के–के न दिन्छौँ भन्नु हुन्छ । चुनाब सकेपछि हराउनु हुन्छ । हामी दुखियाको दुखैको भारी । अब मलाई भोट हाल्नु छैन । बरु चुनावको दिन एक भारी दाउरा काटेर ल्याउछु । बरु त्यो काम लाग्ला तर कसैलाई भोट दिएर काम छैन ।’ बाको कुरा थियो ।
‘बा अघिल्लो चुनाब जस्तो कहाँ हो त ? यो चुनाब त नयाँ नेपालको लागि हो । मलाई जिताउनु भो भने भाग्य फेरिदिन्छु ।’ तपाईंको कुरा थियो ।
‘के हो यो नयाँ नेपाल भनेको ?’ बाको प्रश्न थियो ।
‘नयाँ नेपाल भनेको समानुपातिक, समाबेशी, धर्म निरपेक्ष, संघीयता र नयाँ संविधानसहितको नेपाल हो ।’
बाले तपाईंको कुरा फिटिक्कै बुझ्नु भएन । समानुपातिक भनेको कुन पार्टी हो ? समाबेशी भनेको कुन बेशी हो ? धर्म निरपेक्ष भनेको कुन धर्म हो ? संघीयता र संविधान भनेको कुन चराको नाम हो ? अह केही बुझ्नु भएन । बुझे त मै मरि जाउ ।
‘नयाँ नेपाल भनेको हामी जस्तो गरिवको दिन फिर्नु हो बा । अब हामी यो देशको मालिक हुने दिन आयो । हाम्रा दुःखका दिनहरु गए वा । तपाईंले अब भारीको बोझ खेपेर लेक बेशी गर्नु पर्दैन ।’ म सक्दो फकाएको थिएँ ।
बाको आँखामा पनि खुसिका रेखाहरु दौडिए ।
चुनावमा भोट हालेकै दिन भोलिदेखि त नयाँ नेपाल सुरु हुन्छ भनेर बाले खरले छ्वाएको घरलाई पुरानो खर फालेर नयाँ खरले घर छ्वाउनु भो । दस पत्र टालेको स्टाकोट फालेर नयाँ स्टाकोट लगाउनु भो । जुन स्टाकोट ज्युनार (मरेपछि मृतकलाई चढाईदिने कुनै नयाँ बस्तु) राख्नु भएको थियो ।
चुनाव सकिएको भोलि बिहान राति सुत्दा देखेको गाउँ जस्तो थ्यो, उस्तै देखियो । आकाश उस्तै थियो । बिहान पानी पँधेरी नगरी नहुने त्यही स्थिति रहिरह्यो । दिनदिनै हाम्रो नेपाल किन उस्तै छ भनेर सोधिरहनु भयो । ‘बा एकै पटक कसरी नयाँ हुन्छ ? बिस्तारै बिस्तारै हुँदै होला नि । काठमाडौदेखि भर्खरै उकालो लाग्दै होला ।’
पछि कतिखेर हो, सोध्नै छोडिदिनु भयो र उहाँको दिनचर्या पहिलेकै लयमा बित्न थाल्यो । दस बर्ष बित्यो । केही नयाँ भएन ।
दोस्रो संविधानसभाको चुनावमा नयाँ नेपालकै लय लिएर दलहरु भोट माग्न हाम्रो गाउँ पुगे फेरि । मेरो बूढो बा पिँढीमा बसेर खुकुरीको धार निकाल्दै हुनुहुन्थ्यो ।
‘बा ! आज गाउँमा कार्यक्रम छ भन्ने सुनेको छु । आज बन नजाऔं । कार्यक्रममा गएर नेताहरुको कुरा सुनौं ।’ मलाई लागेको थियो, बा बन जाने शुरमा खुकुरीको धार चम्काउदै हुनुहुन्छ ।
‘अ मलाई पनि त्यस्तै लाग्छ ।’ वाले जवाफ दिनु भयो ।
‘बा खुकुरीको धार किन निकाल्नु भएको त ?’ मैले आश्चर्य मानेर सोधेको थिएँ ।
‘एक दुई जनालाई सिध्याउनु छ ।’
‘बा !’ तीन छक्क भएर बाको अनुहारमा हेरे ।
‘४६ सालमा पनि नयाँ नेपाल भनेकै थिए । केही भएन । ५१ मा पनि भोट हालेकै हो । केही भएन । त्यसपछि राजाको शासनमा पनि एकपटक भोट हालियो । केही भएन । त्यसपछि ६४ सालमा फेरि नयाँ नेपाल भनेर भोट माग्न आए । भोट हालियो । केही भएन । अब त झन के होला र ? दुखारीको दुखै सङ्गाती । एकदुई जनालाई नछप्काई भएन ।’
‘बा नेपाल हाम्रो गाउँ मात्रै त होइन । यति ठूलो नेपाललाई नयाँ बनाउन कम्ती समय लाग्दैन । बन्दै होला नि बा ।’ मैले सम्झाएको थिएँ । त्यसपछि बाले पनि भोट खसाले । चुनाव सकेपछि गाउँको पल्लो डाँडामा बसेर बा टोल्हाएर बस्नु हुन्थ्यो काठमाडौँबाट नयाँ नेपाल बनाउने मान्छे आउँछन् कि भनि । एक साता बाटो ढुकेर कोही नआएपछि यो पाली पनि नयाँ नेपालको सपना बिर्सिदिए ।
संविधान घोषणा भयो । बालाई थाहै थिएन ।
भारतले नाकावन्दी लगायो ।
रेडियोमा सुनियो, दुई बर्ष भित्रमा नेपालले आफैँले तेल निकाल्छ । पाइपद्वारा जनताको घरघरमा ग्यास पुराइन्छ । हावावाट बिजुली निकालिन्छ । नेपालको पूर्वपश्चिम रेल–मार्ग निर्माण गरिन्छ । बाबुको निधार फेरि चम्किलो देखियो । बिचरा बालाई रेल चढ्ने ठूलो धोको थियो । घरघरमा ग्यासको पाइप जोड्ने भनेपछि जंगलमा दाउरा बटुल्न पनि छोडिसक्नु भयो । हावावाट निकालेको बत्ती कहिले बाल्ने भन्ने चिन्ता थियो उहाँलाई । बेला–बेलामा बाले सोध्नु हुन्थ्यो, केटा पाइप बोकेर कोही काठमाडौँबाट आइरहेको छ कि जा डाँडामा गएर हेर । पछि यी कुराहरु पनि बिर्सिनु भयो ।
स्थानीय चुनाव आयो । मेरो बा फेरि आगनमा त्यही खुकुरीकै धार निकाल्दै हुनुहुन्थ्यो । स्थानीय चुनावमा एउटा नेताले भन्यो, ‘खानकै लागि जनताले काम गर्नु पर्दैन । धनी बन्नको लागि मात्रै काम गर्नुपर्छ । जनताले कामै नगरे पनि बिस्तारामै खाना पुराइदिनु पर्छ । म पुराइदिन्छु तपाईंहरुको बेडमा खाना ।’ खुकुरी उद्याइरहेको बाले एकाएक हात रोक्नु भयो । बिस्तारामै मासुभात खान पाइने कुराले हात खुट्टा कमजोर बन्दै गएको बिचरा मेरो बुवालाई लोभ जगाइदियो । बुढेसकालमा बिस्तारामै खाना आउने भएपछि त्योभन्दा अरु खुसी के हुन सक्थ्यो र । फेरि चुनावमा भोट हाल्नु भो ।
भोट हालेको भोलिपल्ट बाले आमालाई भात नपकाउन आदेश जारी गर्नु भो । बालाई पक्का थियो कि उहाँले जसलाई भोट दिनु भएको छ । उसले बिस्तारामै भात ल्याइदिने छ । मासु–भात आउला र खाउला भनेर प्रतिक्षारत बाले एक दिन बिताउनु भयो । आज आएन भोलि आउला भन्यो, भोलि पनि आएन । पर्सि आउला भन्यो, पर्सि पनि आएन । हदै भएपछि वडा प्रमुखको घरमा बा पुग्नु भएछ । प्रमुखको घरमा रौनक थियो । मासुभात, रक्सी, बियर के–के हो के–के । प्रमुख आफ्ना आसेपासेहरुसँग टिल परेको थियो ।
‘के हो चाला ? बिस्तारामै मासुभात ल्याइदिन्छु भनेको होइन ?’ बाले प्रमुखलाई हकार्नु भएछ ।
‘को हो यो मान्छे ?’ प्रमुखले त बालाई बिर्सिसकेछ ।
त्यसपछि बाले कम्मरमा भिरेको खुकुरी निकलेर प्रमुखलाई छप्काउन खोज्यो । अरुले नछेकेको भए प्रमुख त्यहीँ खतम । बालाई कानुन थाहा थिएन । उहाँलाई त केवल उसको पेट भोको छ, यही थाहा थियो । उहाँलाई पुलिसले समातेर थुने । उहाँलाई मेरो के कसुर थियो ? थाहा थिएन । उहाँलाई त केवल नेताले धोका दिए भन्ने मात्रै थाहा छ । त्यसैले उम्मेदवारज्यू, मेरो घरमा भोट माग्न नजानु होला । मेरो बुढा बालाई कानुन थाहा छैन ।
मेरा बाको अगाडि कानुनको कुरा नगर्नु होला । न्यायको कुरा नगर्नु होला । संविधान र नयाँ नेपालको कुरा नगर्नु होला । काठमाडौँको भाषा र सिहदरवारको नीति उहाँले बुझ्नु हुन्न । उहाँलाई नबिथोल्नु होला । जे छ, त्यसैमा सन्तुष्टि हुनुहुन्छ । यो दिउँला, त्यो दिउला नभन्नु होला । दुःखी मान्छे बढी आशावादी हुन्छ । बढी आशा गर्न थाल्नु हुन्छ । ‘राँडीलाई ल्याउँला नभन्नु, गरिवलाई दिउला नभन्नु’ भन्छन् । जे छ, हुन दिनुहोस् ।
एक पटक एउटा नेताले नेपाललाई सिंगापुर बनाइदिन्छु के भनेका थिए, बाले धेरै बर्षसम्म सिंगापुरको सपना देख्नु भयो । यहाँसम्म कि सिंगापुर पुलिसमा भर्ना भएका लाहुरेहरुको बाबु–आमाहरुलाई अब छोराहरुलाई नेपाल झिकाउनु पर्छ र नेपालकै पुलिसमा भर्ना बनाउनुपर्छ समेत भन्नु भएको थियो । उहाँको बिचार के थियो भने नेपाल सिंगापुर भन्यो भने नेपाली पुलिस पनि स्वतः सिंगापुरे पुलिस हुन्छन् भन्ने थियो । मेरो भाइ खाडीमा आउने वेला पनि बुवाले अनिच्छा प्रकट गर्दै भन्नू भएको थियो, ‘नेपाल आफै सिंगापुर बन्दैछ भने किन अरवको घाम खान जान्छौ ?’
त्यसैले उम्मेदवारज्यू, मेरो बिन्ती छ, असम्भव खालको सपना नदेखाउनु होला । बरु हाम्रो गाउँमा खानेपानीको दुस्ख छ, कुवा खनौंला । बाटो बिग्रेको छ, बाटो बनाउँला भनेर भन्नू होला । खेतीपातीमा आकासे पानीको भर पर्नु परेको छ, त्यसैले सिंचाइको लागि कुलो खनौंला भनेर भन्नु भो भने मेरो बाले कुरा बुझ्नु हुनेछ । हिजोको जस्तो सपनाहरु फेरि बाँड्न थाल्नु भो भने यो पटक पनि पक्कै मेरो बुढा बाले खुकुरीको धार निकाल्दै हुनुहुन्छ होला । उहाँलाई कानुन थाहा छैन । उहाँलाई त यति मात्रै थाहा छ, झुट बोल्नु हराम काम हो । त्यसैले अब उप्रान्त झुट नबोल्नु होला । यहीमा तपाईंको भलो हुनेछ । यति भन्दै आजलाई कलम बन्द गर्ने अनुमति चाहन्छु ।
उही नौ जवान बेचेर लास बुझिरहेको देशको एउटा बेचिएको नागरिक ।
पृथीछक बुढा मगर
पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्मा, पुर्वी रुकुम

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>