अरव पुगेको एउटा गाउँ – दुर्गा कुंवर

कुमारी अक्करमा फुलेको कलिलो सुनाखरी
बा आमाको खुशी किन्न सहर पसेपछि
त्यही सुनाखरीको कुमारित्व आरोहण गरेर
सुन्दैछु तिम्रो सहर
अनौठो उपासक विशेषज्ञ बन्दैछ वा
गिनिज बुकमा नाम लेखाउदै छ ।

सरकार यी तथ्यका खोज गरिदिए विश्वले
गोल्ड मेडलिष्ट हुने थियो मेरो राजधानी ।

म यहि देशको गरीव गाउँ हु
धर्तीको आँसु पुछ्नु अगाडि नै धुजा हुने
आकासको छातीलाई खास्टो समेत नपुग्ने
एउटा निर्जीव तमसुकमा
पिलिलिको मुटुको हरियो स्ट्याममा
बिवशताको अौठा च्वाट्ट चुटाएर
ल्यायाप्चे लगाए पछि तग्दिरमा
अहिले म अरव आएको छु।

म जलाशय पुगेको अर्ध मुर्दा
आँखा भरी हिमाल
छाती भरी मेरो देश
मुटु भरी लालीगुरास राखेर
जाँदै छु एक बर्ष आयुको भिषा थप्न
यमराजको दुतावास तिर ।

पैसाका जालाले आखाको ज्योती पुरेपछि
मोनालिसाको लास चिहानबाट झिकेर
सुन्छु सहरका छाउपडीममा बेच्दै छौ
सरकार
जलाईदेउ कानुनका ठेलीहरु
खोलिदेउ बरु एउटा नामुद अन्तराष्ट्रिय रेष्टुरा
त्यो सर्वोच्च अदालतको भवनमा ।

सधै सधै डुब्नु छ
भक्भकिएका पसिनाका कराईमा
त्यही जलनमा आशुको बर्तन थप्दै
सल्काउनु छ आयुको बात्ती
डढिसकेको सलेदोको कालो टीका लगाएर
फिर्ने ईच्छा छ तुरुन्त
मेरै देशको गर्भ भित्र ।

यो कहिल्यै घाम नअस्ताउने देशमा
आएन चिथोरिएको बारपाकको खवर आएन
सिटामोल र जीवनजलको अभावमा
ज्वरो र झाडापखालाले थलिएको
अशक्त रुकुम रोल्पाको खवर आएन
बाडीले लैनो माली गाईका माउ बाच्छा वगाउदा
मेरा छोराले बगाएको आशुको चित्र कोरेर
पठाएन अहं कसैेले पठाएन
सुन्छु त केवल
तिम्रो हिटलर शहरले
गाउका सिद्धार्थहरु बेचेका खवर
बस्तीका कोपिलाहरु बेपत्ता पारेका खबर
सुन्न यति बाकी छ
शहर रुदै गाउँ पसेको खवर ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>