नेवानिका चार क्याप्टेन एकैचोटि ‘ग्राउन्डेड’ !

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) व्यवस्थापनले उड्डयन नियम उल्लंघन गरेका आफ्ना चारजना क्याप्टेनलाई उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड’ गरेको छ। एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को निर्देशन अटेर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबर्जस्ती जहाज ‘टेकअफ’ गरेको भन्दै निगम व्यवस्थापनले ‘वाइडबडी’ जहाज ए३३०–२०० का क्याप्टेन यामप्रसाद (वाइपी) ज्वार्चन र प्रशन्नसम्सेर जबरालाई ग्राउन्डेड गरेको हो।
त्यसैगरी हङकङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा त्यहाँको एटिसीको निर्देशन अवज्ञा गरेको भन्दै ‘न्यारोबडी’ जहाज ए३२०–२०० का क्याप्टेन राजेश कुशवाह र उद्धव घिमिरेलाई ग्राउन्डेड गरिएको नेवानिले जनाएको छ। ‘उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले हाम्रा चार पाइलटले उड्डययन नियम उल्लंघन गरेको जानकारी गराएपछि उहाँहरू सबैलाई ग्राउन्डेड गरेर छानबिन अगाडि बढाएका छौं,’ नेवानिका प्रवक्ता अर्चना खड्काले क्यापिटल नेपालसँग भनिन्।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गत शुक्रबार घटना भएको जानकारी आएलगत्तै शनिबार नेवानिलाई ती क्याप्टेनलाई ग्राउन्डेड गरी अध्ययन गर्न मौखिक निर्देशन दिइएको बताए।
प्राधिकरणको निर्देशनलगत्तै नेवानिले ती घटनामा संलग्न चारैजान पाइलटलाई ग्राउन्डेड गरी अध्ययन अगाडि बढाइसकेको जनाएको छ।
नेवानि स्रोतका अनुसार अहिले दुवै विमानस्थलमा ‘सेफ्टी टिम’ ले अध्ययन गरेर प्राधिकरणलाई प्रतिवेदन बुझाइसकेको छ। प्राधिकरणले उक्त प्रतिवेदन अध्ययन गरेपछि पाइलटहरूको कारबाही फुकुवा गर्ने वा लम्ब्याउने निर्णय गर्छ। नेवानिले बुझाएको प्रतिवेदनमा प्राधिकरणले चित्त नबुझाए प्राधिकरण आफैंले अध्ययन समिति बनाएर प्रतिवेदनसमेत सार्वजनिक गर्नसक्ने छ। यो विषयमा भने प्राधिकरणका प्रवक्ता निरौलाले प्रतिवेदन अध्ययन हुन बाँकी रहेको जानकारी दिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु