अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सर्तहरूको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ । एनसीएचएल– इसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिन नै राफसाफ गर्ने बताइएको छ । अन्तिम सेटलमेन्ट सवा ५ पछि हुने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ । हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्र सञ्चालन हुने बताइएको छ । त्यस्तै २०-३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ ।
त्यसैगरी एनसीएचएल आइपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिन नै राफसाफ हुने एनसीएचएलले जनाएको छ । साथै बिहान ९ बजेदेखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरू हरेक २-२ घण्टामै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएको बताइएको छ । त्यसैगरी रिटेल पेमेन्ट स्वीचमार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको छ । ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत रहेको एनसीएचएलले जनाएको छ ।

प्रतिक्रियाहरु