दशै-तिहारका लागि सुपथ मूल्य पसल खुल्दै

२०७८ भाद्र ३१ गते, बिहीबार


काठमाडौँ । खाद्य संस्थानले दशैं र तिहारलाई मध्येनजर गर्दै उपत्च्यकाका ४३ ठाउमा सर्वसाधारणका लागि सुपथ मूल्य पसल संचालन गर्न लागेको छ । संस्थानले आगामी असोज १ गतेदेखि आफ्ना कार्यालय रहेका विभिन्न ३९ जिल्लामा ४३ स्थानमा यस्तो पसल संचालन गर्न लागेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएकी छन् । न्यौपानेका अनुसार काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने छ । उनका अनुसार यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ ।
यसैगरी उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो । त्यसैगरी खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् ।
यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरु