नेकपासहित ६ राजनीतिक दलद्वारा एमसीसी सम्झौता खारेज गर्न माग

२०७८ भाद्र २९ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै काभ्रेका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी वसन्त, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाजवादीका अध्यक्ष योगेश राल्फाली, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष जितबहादुर लामा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिव प्रभात मोक्तान र नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि राजीव खरेलले सोमबार एमसीसी खारेजीको लागि संयुक्त प्रेस विज्ञप्तिमार्फत राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकारलाई सशक्त माग गर्दै काभ्रेवासी आमजनसमुदायलाई सम्झौताविरुद्ध स्वस्फूर्त अघि बढ्न अपिल गरेका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हिन्द प्रशान्त रणनीति अन्तरगत मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जोरजबरजस्त रुपमा नेपालको विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई किनेर, धम्क्याएर पास गराउने दौडधुपमा अमेरिका लागिपरेको छ । यतिखेर स्वाधीन नेपाल र स्वाभिमानी नेपाली आकाशमा राष्ट्रघातको कालो बादल मडारिइरहेको छ । एमसीसी सम्झौता पास गर्ने दुश्चक्र संसदीय दलहरूद्वारा भयो भने नेपाल रणमैदानमा परिणत हुनेछ र अमेरिकी कालोबुटमुनि नेपाल र नेपाली छटपटाउनु पर्नेछ । जहाँ अमेरिकी सेना उपस्थित भएकोछ, त्यहाँ प्रलय सिवाय अर्थोक हात लागेको छैन ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यतिमात्र होइन हाम्रो नेपाल असंलग्न परराष्ट्र नीति र क्षत्रीय सन्तुलनको पक्षमा रहँदै आएकोले क्षत्रीय युद्धकारी एमसीसी पूर्णरुपमा अवज्ञा सहित खारेज नगरी विकासको ललिपपमा लोभ्याएर र लोभिएर आइलाग्ने राष्ट्रिय विनास कदापी स्वीकार्य हुनेछैन । तसर्थ राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकारलाई सशक्त माग गर्दै काभ्रेवासी आमजनसमुदाय सम्झौता विरुद्धमा स्वस्फूर्त अघि बढ्न यसै संयुक्त प्रेस विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु