कोरोनावाट १२ पत्रकारको मृत्यु , ७ सय बढी संक्रमित

२०७८ जेष्ठ २ गते, आईतवार

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ ले फ्रन्ट लाइनमा काम गर्ने १२ जना पत्रकारको ज्यान लिइसकेको जनाएको छ ।महासंघले पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको जनाएको छ ।
महासंघ कार्यालयको अभिलेख अनुसार करिब ७०० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग जुधिरहेका छन् । यसमा काठमाडौं कार्यक्षेत्र बनाउने धेरै रहेका छन् ।
महासंघका अनुसार सक्रमितमध्ये अधिकांश घरमै आइसोलेसनमा रहेका छन् । २५ जना भने देशका विभिन्न अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् । यीमध्ये तीन पत्रकारको अवस्था भने गम्भीर रहेको जनाइएको छ । उनीहरू पोखरा र काठमाडौंमा उपचाररत रहेको बताइएको छ ।
महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्यमा ध्यान दिन र महामारीबाट पीडित बनेका श्रमजीवी तथा स्वरोजगार पत्रकारहरुको लागि आवधिक राहत प्याकेजको व्यवस्था गर्न नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ लगायत सञ्चारसम्बद्ध विभिन्न संघ संस्थाले माग गर्दै आएका छन् ।
संक्रमित सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल पत्रकार महासंघको केन्द्र र विभिन्न जिल्लामा अक्सिजनसहितका आइसोलेसन बेडहरुको निर्माण गरिएका छन् । ती आइसोलेसनमा भने अहिले कुनै पनि संक्रमित बसेका छैनन् ।

प्रतिक्रियाहरु