क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

२०७७ मंसिर १३ गते, शनिबार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परीक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ ।
यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ ।
टोलीका कार्यवाहक व्यवस्थापक विक्रम न्यौपानेले शनिबार यी तीनै जना खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने बताएका छन् । नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ । सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रियाहरु