बलात्कारीलाई मृत्युदण्ड !

२०७७ आश्विन २७ गते, मंगलवार


काठमाडौं । बंगलादेशमा बलात्कारीलाई मृत्युदन्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदन्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दबाब आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुनमन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिनुभयो । उहाँले अत्यधिक धेरै दन्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दन्डसम्मको व्यवस्था गरिएको बताउँदै सबैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पार्नुभयो ।
सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्नेपनि उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले भइरहेको कानुनलाई द्रुतमार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेशमार्फत् यस्तो कानुन जारी गर्न लागिएको हो । बलात्कारका घटना निरन्तर भइरहेकाले बंगलादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदन्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो ।
गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । विद्यार्थी, महिलाअधिकारको क्षेत्रमा कार्यरत् संघ-संस्थालगायतले घटनाको विरोध र कडा कानुनको माग गर्दै राजधानी ढाकामा प्रदर्शन गरेका थिए । उनीहरुमध्ये अधिकांशले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदन्ड दिइनुपर्ने माग राखेका थिए ।
बंगलादेशमा गत नौ महिनामा कम्तीमा ९७५ जना महिला बलात्कृत भएको एक संस्थाको तथ्यांकमा उल्लेख छ । तीमध्ये २०० भन्दा बढी घटना सामूहिक बलात्कारका घटना भएको, ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सो तथ्यांक संकलन गरिएकाले यस्ता घटना अझ धेरै भएको हुनसक्ने अधिकारकर्मीहरुको अनुमान छ । तथ्यांकमा जनाइएअनुसार बलात्कार आरोपीमध्ये एक प्रतिशतमात्रै दोषी ठहर हुने गरेको छ । अधिकारकर्मीहरुले बलात्कारका घटनामा दोषी उम्किने र उसलाई बचाउन लाग्ने संख्या पनि धेरै र प्रभावशाली हुनु अर्को दुःखद् पक्ष भएको बताएका छन् । -रासस/एएनआई

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु