संसदीय समितिद्वारा क्लिन फिड लागू गर्न निर्देशन

२०७७ आश्विन ५ गते, सोमबार


काठमाडौं । संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । विदेशी च्यानलमा स्वदेशी विज्ञापन राख्ने नीति ऐनको भावना विपरित हुने भन्दै त्यस्तो निर्णय नगर्न समेत समितिले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सिंहदरबारमा सोमबार बसेको बैठकले तत्काल विज्ञापन वोर्ड गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ऐन स्वीकृत भएको ११ महिना वितिसक्दा पनि कार्यान्वयनमा ढिलाई भएकोमा चासो व्यक्त गर्दै समितिले सरकारको नाममा त्यस्तो आदेश जारी गरेको हो ।
ऐनको दफा ६ मा उल्लेख भएको डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनलाई विज्ञापन रहित वनाउने एकबर्ष समयावधि तोकिएको र समयावधि सकिन एक महिना बाँकी हुँदा समेत खासै काम हुन नसकेको भन्दै तत्काल कार्य सम्पन्न गरी ऐन कार्यान्वयन गराउन समितिले निर्देशन दिएको छ ।
बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले मन्त्रालय विज्ञापन ऐन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताएका छन् । विज्ञापन वोर्ड गठनकालागि नियमावली मन्त्रीपरिषद्मा पुगेको र यसै हप्ता नियमावली स्वीकृत गरि ऐन कार्यान्वयमा ल्याउने मन्त्रालयको दाबी छ ।
मन्त्रालयलयले राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापन रहित वनाउन कुनै वाधा नपर्ने भएकोले सरकारले यसलाई कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ ।
बैठकमा सांसदहरुले ऐन कार्यान्वयमा सरकारले तदारुकता देखाउन नसकेको भन्दै ऐनको तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए । संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट २०७६ साल कातिक ८ गते स्वीकृति भएको विज्ञापन ऐन हालसम्म कार्यान्वयमा आउन सकेको छैन ।

प्रतिक्रियाहरु