चप्पल उद्योगमा आगलागी : लाखौंको क्षति

२०७६ फाल्गुन २८ गते, बुधबार

काठमाडाैँ, २८ फागुन । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गएराति करिब १२ बजेतिर आगलागी भएको छ । आगलागीवाट त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आगलागी बुधबार बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो । उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन ।

प्रतिक्रियाहरु