सुमार्गीले झिके राेक्का राखिएकाे साढे २ अर्बभन्दा बढी रकम

२०७५ पुष २१ गते, शनिबार

काठमाडौं, २१ पुस । व्यवसायी अजेयराज सुमार्गीको नाममा विदेशबाट आएको रकममाथिकाे रोक्का सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएपछि सुमार्गीले आफ्नो रकम झिकेका छन् । नेपाल राष्ट्र बैंकको आदेशमा खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रकम सुमार्गीले निकालेका हुन् । लगानीका नाममा विदेशबाट उनको खातामा रकम आएको थियो । तर त्यसको स्रोत पुष्टि हुन नसकेपछि राष्ट्र बैंकले रकम रोक्का गरेको थियो । तर सर्वोच्च अदालतले सो रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको रकम सुमार्गीले निकालेका हुन् ।
सर्वोच्च अदालतले २ पटक सुमार्गीको रकम नरोक्न आदेश जारी गरेको छ । पहिलो आदेश सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकमको नाउँमा आएको करिब २ करोड अमेरिकी डलरको रोक्का फुकुवा गर्न सर्वोच्चले आदेश दिएको थियो । अर्को आदेश एक साताअघि उनको सिमेन्ट उद्योगका लागि भन्दै आएको ७५ लाख अमेरिकी डलर पनि रोक्का फुकुवा गर्न आदेश दिएको थियो । सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिको नाउँमा आएको सो रकम भुक्तानी दिनबाट वञ्चित नगर्न गत बिहीबार सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आदेश दिएको हो । सो रकम बर्षौंदेखि बैंकमा फ्रिज भएको भन्दै भुक्तानी खुला गर्न नेपाल राष्ट्र बैंकको नाममा आदेश जारी भएको थियो । यही पुष २४ गते दुवै पक्षलाई झिकाइ थप बहस गर्नुपर्ने जनाउँदै इजलासले त्यस मितिसम्म रकम भुक्तानी दिन रोक नलगाउनू भनी अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला नहुँदै सुमार्गीले रकम झिकेका हुन् । सर्वोच्चको आदेशपछि आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै सुमार्गी इन्भेष्टमेन्ट बैंक पुगेका थिए । उनले यसपटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रियाहरु