चाँदीभन्दा महँगो भेनिला

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । नेपाली बजारमा यतिखेर चाँदीको मूल्यभन्दा भेनिलाको मूल्य बढी महँगो भएको छ । आइसक्रीम अत्याधिक रुचाइने भेनिलाको मूल्य विगत दुई वर्षदेखि लगातार बढिरहेको छ । बेलायती बजारमा यसको मूल्य प्रतिकिलो ६०० डलर पुगेको छ भने नेपाली मुद्रामा एक किलो भेनिला किन्दा ६४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । नेपालमा यतिखेर चाँदीको मूल्य ५६ हजार ८२१ रुपैयाँ प्रतिकिलो भएकोले चाँदीभन्दा भेनिलाको मूल्य आकासिएको हो । भेनिलाको मूल्य बढ्दा आइसक्रीम व्यापार गर्नेहरू तर्सन थालेका छन् । बेलायतको स्नगबरी आइसक्रीम कम्पनी प्रत्येक हप्ता पाँच टन आइसक्रीम बनाउँदा ४० फ्लेभरमध्ये एक तिहाइमा कुनै न कुनै रूपमा भेनिला प्रयोग गरेको हुन्छ । अघिल्ला वर्षहरूमा यो कम्पनीले भेनिला किन्ने मूल्यमा बर्ष तीस गुणाभन्दा बढी मूल्य आकासिएपछि बेलायतको एक कम्पनीले त भेनिला फ्लेभरको आइसक्रीम बनाउनै छोडेको छ । भेनिला उष्णकटिबन्धीय क्षेत्रमा रहेको म्याडागास्कर द्वीपमा हुने ७५ प्रतिशत उत्पादन हुने वनस्पति हो । गत मार्च महिनामा म्याडागास्करमा चक्रवातीय तूफान आएर भेनिलाको बिरुवा नष्ट भएपछि मूल्य आकासिएको भेनिलाको मूल्य चर्को मागका कारण मूल्य बढेको बढ्यै छ । भेनिला केसरपछि संसारको दोस्रो सबभन्दा महँगो बिरुवा हो । कमोडिटी मार्केटविज्ञ जुलियन गेलका अनुसार, म्याडागास्करबाहेक पपुआ न्यू गिनी, भारत र युगान्डामा यसको खेती हुन्छ । संसारभरि यसको माग छ । अमेरिकाको ठूलो आइसक्रीम उद्योगका कारण धेरै भेनिला खपत हुन्छ । आइसक्रीम मात्र नभई भेनिलाको प्रयोग मिठाइ र रक्सी अनि पर्फ्युममा पनि प्रयोग हुन्छ ।

प्रतिक्रियाहरु