असार ३१ मा बजेट ल्याउने तयारी

२०७० असार २३ गते, आईतवार

काठमाडौं, २३ असार– अन्तरिम चुनावी मन्त्रिपरिषदले आगामी ३१ असारमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले नयाँ नीति तथा कार्यक्रम केही पनि नसमेटी सो दिन बजेट ल्याउने तयारी गरेको हो । राष्ट्रपति डा. रामवरण यादवले नयाँ नीति तथा कार्यक्रम नसमेटी चुनावकेन्द्रित बजेट ल्याउन अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई सुझाव दिइसकेका छन् । सोही सुझावबमोजिम सरकारले चुनावकेन्द्रित बजेट ल्याउने तयारी गरेको हो । ५ सय ६ अर्व रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको सरकारले त्यसको दायरा बढाउँदै ५ सय १९ अर्व रुपैयाँबराबरको हाराहारीमा वजेटको तयारी गरेको छ । निर्वाचनको तयारी र कर्मचारीको तलव वृद्धि गर्नुपरेपछि बजेटको दायरा बढ्ने भएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । विभिन्न कर्मचारी ट्रेड युनियनले २५ प्रतिशत तलव वृद्धि गर्न दबाब दिएकाले सरकारले तलव वृद्धि गर्नैपर्ने वाध्यात्मक अवस्थामा पुगेको छ । यस्तै सरकारले आन्तरिकतर्फ ३ सय ४५ अर्व राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्यसमेत बनाएको छ । २३ प्रतिशतको हाराहारीमा राजस्व लक्ष्य बढ्ने मन्त्रालयले दावी गरेको छ ।

प्रतिक्रियाहरु