‘तस्करलाई किरा परोस्’

२०७४ बैशाख ३ गते, आईतवार

काठमाडौ ३ वैशाख । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन् ।
यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो ।
त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आइतबार निकालिएको शोक र्‍यालीले सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ ।
संरक्षणमा चेतना जगाउन यसरी शोक र्‍याली निकालिएको भन्दै चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले अझै संरक्षणमा चुनौती रहेकाले हातेमालो आवश्यक भएको बताए ।
चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्डएजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा संरक्षणमा सहभागी सङ्घसंस्थाको संयुक्त आयोजनाका कार्यक्रम भएको हो ।
‘दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ एवम् वन्यजन्तु नेपालको अमूल्य सम्पत्ति हुन्,’ संरक्षणकर्मी तथा चरा विज्ञ टीका गिरीले भने, ‘यसको संरक्षण आजको चुनौती भएको छ ।’
वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणबिना पर्यटन व्यवसाय पनि फस्टाउन नसक्ने बाघ संरक्षण समितिका संयोजक जीतु तामाङले बताए । १ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिइन् ।
वैशाख ४ गते घाँसे मैदान व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तर्क्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तर्क्रिया गरेर कार्यक्रम सकिने वर्डएजुकेसन सोसाइटी, चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।- रासस

प्रतिक्रियाहरु