पर्यटकीयस्थलको वृत्तचित्र बनाइदै

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौ, १९ बैशाख । इलामका पर्यटकीयस्थलको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र (डकुमेन्ट्री) बनाउन थालिएको छ ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्य दृश्यसहितको डकुमेन्ट्री बनाउन थालेको हो ।
जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भए पनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको जनाउँदै समितिले डकुमेन्ट्री बनाउन सुरु गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो ।
इलाम र झापाको सीमावर्ती क्षेत्र जोरकलशदेखि तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरसम्मका पर्यटकीयस्थलको डकुमेन्ट्री बनाउने कार्य सुरु भइसकेको छ ।
सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलाम चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माईस्थान, लारुम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीयस्थलको करिब ३० मिनेटको डकुमेन्ट्री निर्माणका लागि गङ्गा दीप फिल्म एण्ड प्रालिलाई जिम्मा दिइसकिएको र प्रालिले ती स्थानको श्रव्य र दृश्य कैद गरिसकेको जनाएको छ ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले पर्यटकीयस्थलको डकुमेन्ट्री निर्माणका लागि प्रालिलाई रु तीन लाख बजेट विनियोजन गरेको छ । डकुमेन्ट्रीले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउनेमा समिति विश्वस्त रहेको छ ।
चैतको पहिलोसातादेखि सुरु गरिएको डकुमेन्ट्रीको काम आगामी जेठमा सम्पन्न गरिने द्यौरालीले बताउनुभयो । डकुमेन्ट्री निर्माणपछि नेपाल टेलिभिजनबाट समेत प्रसारण गरिने र कोल्बुङमा रहेको पर्यटन सूचना केन्द्रमा राखेर इलाम भित्रने पर्यटकलाई पर्यटकीयस्थलको बारेमा जानकारी गराइने छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु