हलेसी पर्यटक र दर्शनार्थी बिहिन

२०७२ आश्विन १७ गते, आईतवार

काठमाडौं, १७ असोज । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी सुनसान बनेको छ । मधेसवादी दलले महिना दिन अघिदेखि गरेको बन्दले यातायातकासाधन चल्न नपाउँदा हलेसी सुनसान बनेको हो । हिउँद वर्षा दुवै मौसममा बाक्लो भीड लाग्ने हलेसीमा तराईको बन्दपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै घटेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । बन्दले हलेसीसम्म आउने यातायातका सवारी साधन चल्न नपाउँदा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी घटेका हुन् । सँधै पर्यटक तथा दर्शनार्थीको भीडभाड भैरहने हलेसीको महादेव गुफा, बसाहा गुफा, रानीपोखरी क्षेत्र अहिले सुनसान बनेको छ ।
बन्द सुरु भएयता तराई तथा तराईको बाटो हुँदै आउने कुनैपनि पर्यटक तथा दर्शनार्थी हलेसी नआएको अध्यक्ष राईले जानकारी दिए । सँधै ग्राहकले भरिभराउ हुने सय वटाभन्दा बढी होटलहरु अहिले रित्तो बनेका छन् । ग्राहक नआएका कारण हलेसीमा होटल बुकिङ गर्नेक्रम पनि ठप्प भएको उद्योग बाणिज्य संघ हलेसी शाखाका सचिव प्रकाशचन्द्र गिरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु