गैरकानूनी विदेशी कामदार कारबाही पर्ने

२०७० बैशाख ४ गते, बुधबार


४ वैशाख, काठमाण्डौं । श्रम विभागले नेपालमा गैरकानूनी रुपमा काम गर्दै
आएका विदेशी कामदारलाई कारबाही गर्ने भएको छ । नेपालको प्रचलित
कानूनबमोजिम श्रम स्वीकृति नदिई काम गर्ने सबै विदेशी कामदारलाई कारबाही
गरिने श्रम विभागका महानिर्देशक कृष्णहरी पुष्कर कर्णले बताए । ‘हाल
नेपालको विभिन्न श्रम प्रतिष्ठान तथा गैरसरकारी संस्थामा ५० हजारभन्दा
बढी विदेशी कामदार कार्यरत छन्,’ उनले भने, ‘तर, विभागको तथ्यांकअनुसार
हालसम्म ९ हजारजति कामदारले मात्रै श्रमस्वीकृति लिएका छन् ।’
श्रमस्वीकृति नलिई काम गर्ने जुनसुकै विदेशी कामदारलाई पनि कारबाही गरिने
कर्णले बताए । विभागका अनुसार नेपालमा गैरकानूनी रुपमा काम गर्नेमा चिनियाँ र भुटानी
नागरिक बढी छन् । श्रम स्वीकृतिबिना विदेशी नागरिकले नेपालमा काम गर्नु
कानूनतः दण्डनीय मानिन्छ । श्रम स्वीकृति नलिई काम गर्ने विदेशी
नागरिकलाई नेपालको श्रम ऐन, अध्यागमन ऐन, राजस्व कानून र सम्बन्धित
विषयगत कानुनअनुसार कारबाही गरिने व्यवस्था रहेको अभियान दैनिकमा खबर छ ।
तर, नेपाल सरकारले त्यस्ता कामदारलाई अहिलेसम्म कुनै पनि कारबाही नगरेको
विभागको भनाई छ । श्रम ऐन २०४९ अनुसार कुनै पनि विदेशी नागरिकले नेपालमा
तल्लो तहमा पटकपटक गरी अधिकतम ५ बर्ष काम गर्न पाउँछ । त्यस्तै उच्च तहका
कर्मचारकिो हकमा भने बढीमा सात बर्षसम्म काम गर्न पाउने व्यवस्था छ । तर,
प्रायजसो विदेशी कामदारले श्रमस्वीकृति नै नलिई बर्षौसम्म गैरकानूनी
रुपमा काम गर्दै आएको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु