टोपबहादुर रायमाझी अस्पताल भर्ना

२०८० चैत्र १५ गते, बिहीबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा थुनामा रहेका रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको जेलर कुष्णबहादुर कटुवालले जानकारी दिए । रायमाझीमा नसाको समस्या देखिएको बताइएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको टगी प्रकरणमा रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।
पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ परेका सई लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए ।
पछि पुनरावेदनमार्फत उच्च अदालत पाटनको आदेशमार्फत् कांग्रेस नेता खाँण भने रिहा भएका थिए । उच्च अदालतले समेत रायमाझीसहितका व्यक्तिको हकमा भने जिल्लाकै आदेश सदर गरेको थियो । उनीहरु अहिले सर्वोच्च समेत पुगेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । उनीहरुविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा गत १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २८ करोडको बिगो मागदाबी गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु