समाजवादी मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउने सहमति

२०८० चैत्र ९ गते, शुक्रबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालको बैठकले मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउने सहमति गरेको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलेको अध्यक्षतामा शुक्रवार विहान प्रधानमन्त्री निवास वालुवाटरमा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा वर्तमान गठबन्धन सरकारमा रहेका समाजवादी कम्युनिष्ट पार्टीलगायत सरकार बाहिर रहेका समाजवादी शक्तिहरुलाई मोर्चामा ल्याउने सहमति भएको बैठकमा सहभागी नेकपाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए । मोर्चाले नेपाली विशेषताको समाजवादबाट वर्तमान देशको संकटको अग्रगामी निकास खोज्ने बताएको छ ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिकाबारे गम्भीर छलफल गर्दै दलाल संसदीय व्यवस्थाले सृजना गरेका समग्र क्षेत्रको संकटबाट देशलाई निकास दिन मोर्चालाई प्रभावकारी बनाउनु पर्ने,सबै समाजवादी शक्तिहरुलाई मोर्चामा सहभागी गराउन पहल गर्ने र मोर्चाको आगामी कार्यक्रमहरु केही दिनमा ठोस गरेर लैजाने सहमति भएको बताईएको छ ।
बैठकले समाजवादी मोर्चा र बर्तमान सरकारी गठबन्धन सरकारले देश र जनतालाई प्रत्यक्ष उद्धार तथा राहत हुने खालका प्रभावकारी कामहरु गर्ने र सरकारलाई प्रभावकारी गराउन मोर्चाले आवश्यक सुझाव सल्लाह दिने बारे पनि छलफल भएको छ ।
देशमा मौलाईरहेको भ्रष्टाचार, अनियमिता, लघुवित्त र सहकारी ठगी, लगायतका विकृतिहरु रोक्न र नियन्त्ररण गर्न सरकार र समाजवादी मोर्चा संगसंगै प्रभावकारी रुपमा काममा लाग्ने सहमति भएको नेताहरुले बताएका छन
बैठकमा नेपाल कम्युुनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,प्रवक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, वर्षमान पुन,नेतृ पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
स्मरणरहोसः मोर्चालाई विस्तार र प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनको ठुलो दल नेकपा एमालेसंग विहिवार मात्रै समाजवादी मोर्चाका संयोजक विप्लवले भेटवार्ता गरेका थिए ।
यतिबेला मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेकपा प्रवक्ता प्रकाण्ड सी अन्य समाजवादी शक्तिहरुसंग पनि राजनीतिक भेटघाटमा ब्यस्त छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु