संयुक्त राष्ट्रसङ्घद्वारा पृथ्वी सङ्कटमा पर्ने चेतावनी

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनका अनुसार सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुनेछ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उनले जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याएर द्रुत गतिमा परिवर्तन भइरहेको बताएको खबरमा उल्लेख छ । गएको वर्ष पृथ्वीको नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको थियो । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । यसअघि सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा सहभागी राष्ट्रहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न प्रयास गर्न सहमत भएका थिए । २०२३ मा विशेषगरी समुद्रको तातोपन र समुद्री बरफको कमीका कारण उच्च तापक्रमको सामना गर्नु परेको थियो ।
राष्ट्रसङ्घीय मौसम विज्ञान सङ्गठनको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।
जलवायु परिवर्तनले विश्वभर बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता समस्या निम्तिरहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सौर्य, वायु र जलविद्युतमा जस्ता नवीकरणीय ऊर्जा उत्पादनमा ५० प्रतिशतले वृद्धि हुनुलाई आशाको किरणका रूपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु