नेपाल कम्युनिस्ट पार्टीवाट सिक्नुपर्ने पाठ

२०८० चैत्र ४ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले गत फागुन २५ र २६ गते जुम्लाको हिमा गाउँपालिका वडा न ७ मा १ हजार र फागुन २७ गते कालिकोटको तिलागुफा नगरपालिकास्थित फाई महादेवमा पाँच सय स्याउका बिरुवा रोपेको छ । सो पार्टीका महासचिव बिप्लव सीसहितको टोलीले उक्त स्थानमा पुगेर स्याउका बिरुवा रोपेका थिए । उक्त स्याउका बिरुवा रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले नेपाल आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न तराईमा धान, पहाडमा सुन्तला र हिमालमा स्याउ र जडिवुटीको उत्पादनको तयारी गरेको बताउँदै पार्टीलाई ३ बर्षभित्र आत्मनिर्भर र चन्दामुक्त पार्टी बनाउने बताए । उनले नेपालमा उत्पादनसंग जोडिएको राजनीतिक नहुँदा गोलचक्करको राजनीतिक मात्र भइरहेको बताउँदै नेपालमा कुर्सीको वरिपरि राजनीतिक घुमेको, जनतामा निरासा छ, बेरोजगारी बढेको र युवाहरु विदेशतिर गएका भन्दै यसलाई उत्पादनको सुरुवात गरेर रोक्न सकिने बताएका थिए ।

स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय उत्पादन योजनाअन्तर्गत ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०’ गत असार १५ गते शुक्रबारवाट सुरु गरेको थियो । यो अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादनअन्तर्गत ४० बिघा र देशभर करिब एक सय बिघामा धान खेती गरेको थियो भने नेकपाले मौरी पालन, तरकारी खेती, चैते धान खेतीलागायतका उत्पादन प्रणालीमा पार्टी, नेता र कार्यकर्तालाई जोड्दै लगेको छ ।

सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । नयाँ तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको पाइएको छ । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवार ७१ प्रतिशत थियो । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ भने अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । तर, पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको छ । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको पाइएको छ भने कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको देखिएको छ । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथा कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।

कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको पाइएको छ भने कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको पाइएको छ ।

यसैगरी, सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको पाइएको छ । कृषिगणनाअनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणनाअनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको पाइएको छ । कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको र कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिएको पाइएको छ ।

यी सबै तथ्यलाई नियाल्दा देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई सरकारले सम्बोधन गर्न नसक्दा दिनप्रतिदिन तहसनहस हुँदै गएको देखिन्छ । नेपाली नागरिक साँझ–बिहानको छाक टार्न बिदेशीको भर पर्नुपर्ने स्थिति पैदा भएको छ । जुन देश र जनाताको लागि ज्यादै लाजमर्दो विषय हो, यसमा सरकार गम्भीर बन्नै पर्छ ।

तसर्थः सरकारले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले देशलाई आत्मनिर्भर बनाउनु पर्ने सन्देशसहित सुरु गरेको यो अभियानबाट सरकारले पाठ सिक्नु आबश्यक छ । देश खाद्यान्नमा परनिर्भर भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका यस कार्य आफैँमा उदाहरणीय, प्रशंसायोग्य र सह्रानीय छ, यसको सिको सरकारले गर्नै पर्छ । सरकारले कृषकलाई समयमा मल–बिउलगायत आबश्यक कृषि औजारको व्यवस्था र उत्पादित कृषि सामग्रीको बजार व्यवस्थापनमा ध्यान दिए देश खाद्यान्नमा आत्मनिर्भर मात्र होइन कृषिवाट नै देशको देशको अर्थतन्त्र नै मजबुत बन्ने निश्चित छ । नेपालको अर्थतन्त्र कृषि क्षेत्रबाट नै आत्मनिर्भर र विश्वमा एक समृद्ध राष्ट्र बन्न सक्छ भन्नेमा दुई मत छैन, चेतना भया ।

प्रतिक्रियाहरु