८ मार्च र महिला आन्दोलन

२०८० फाल्गुन २४ गते, बिहीबार
अनिल शर्मा

 

कम्युनिस्ट आन्दोलनको नेता तथा महिला आन्दोलनको समेत नेता क्लारा जेटकिन (१८५७–१९३३ जर्मन) ले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका एक सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्युयोर्कबाट भएको हो । सन् १९०८ मा न्युयोर्कमा आठ घण्टा काम, पुरुष सरह पारिश्रमिक र मतदानको अधिकारलगायतका माग गर्दै बिरोध प्रदर्शन भयो । जसमा पन्ध्र हजारभन्दा धेरै महिला सहभागी भएका थिए । यसको एक बर्षपछि सामाजिक जनवादी पार्टी अमेरिकाले नारी दिवस मनाउने निर्णय गर्यो । त्यसरी नारी दिवस सबैभन्दा पहिले अमेरिकी कम्युनिस्टहरुले मनाउन प्रारम्भ गरेका हुन् । त्यसपछि सन् १९११ मा डेनमार्क, अस्ट्रिया, जर्मनी र स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो ।

सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा जार सरकारको बिरुद्ध ‘शान्ति र रोटी’ माग गर्दै सङ्घर्ष सुरु भयो । त्यसको समर्थन गर्दै महिलाहरु हड्ताल र प्रदर्शनमा उत्रिए । त्यसक्रममा रुसी महिलाले ठूलो बलिदान गरे । जारको सत्ता ढलेपछि ती बहादुर महिलाले बलिदानी गरेको दिनको स्मरणमा ८ मार्चमा नै श्रमिक महिला दिवस मनाउन थालियो । यद्यपि रुसमा १९१४ र १९१५ मा श्रमिक महिला दिवस मनाउने गरिएको थियो । सन् १९७४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्याता दियो । तर, ‘श्रमिक’ पदावली राखिएन । त्यसलाई कतिपयले श्रमिक महिला दिवसको सारतत्व मार्ने र चाडपर्वमा झार्ने चालवाजीको रुपमा पनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्र संघले सन् १९७५ मा पहिलो पटक यो दिवसको नारा ‘विगतलाई उत्सवको रुपमा र भविष्यको योजना निर्माण गरौ !’ राखेको थियो ।

नेपालमा भने दरवारिया तथा कुलीन वर्गका महिलाले विसं २०३३ सालबाट महिला दिवस मनाउन थालेका थिए । विसं २०३४ सालबाट साहित्यकार तथा महिला आन्दोलनका अगुवा पारिजातको अगुवाईमा भूमिगतरुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । नेपालको संबिधान २०७२ को श्रम तथा कानुन दफा (४१ )मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस किटान गरिएपछि यसले वैधानिक हैसियत प्राप्त गरेको छ । यो वर्ष विश्वले ११४ औं ८ मार्च दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदैछ । तर महिला हिंसा र विभेदका पर्खालहरु ढलेका छैनन् । महिलाहरुले स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन् । त्यसैप्रकारको अनुभूति छ भारतीय मूलकी अमेरिकी लेखक तथा नायिका पद्मा लक्ष्मीको । उनले संयुक्त राज्य अमेरिकामा महिला हिंसा भारतकै जस्तो रहेको बताएकी छन् । पीडाको विषय त के भने पद्माको परिवार भारतमा भइरहेको महिला हिँसावाट त्रसित भएर अमेरिका पलायन भएको थियो ।

युद्ध, भोकमरी र महामारीको सबैभन्दा धेरै दुष्प्रभाव महिला र बालबालिकामाथि नै पर्दछ । कोभिड–१९ महामारीको दुष्प्रभाव पनि महिलामा नै धेरै परेको छ । विश्वमा कोभिड– १९ महामारी प्रारम्भ भएपछि महिला हिंसा २० प्रतिशतले बढेको थियो । नेपाल प्रहरीको विसं २०७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कोभिड –१९ महामारीपछि सरदर ५ जना महिला दैनिक बलात्कार भएका थिए । नीति निर्माणको हरेक तहमा महिला अधिकार कमजोर छ । यो इच्छाशक्तिको विषय पनि हो । अफ्रिकी मुलुक रुवाण्डाको संसदमा ६४ प्रतिशत महिला सहभागिता छ । तर त्यहाँको कानुनमा महिला आरक्षणको प्रावधान छैन । उता, लोकतन्त्रको ठेकेदार अमेरिकाका विद्यालयमा अध्ययनरत २५ प्रतिशत छात्रा यौन हिंसाको शिकार हुने गरेका छन् । गत वर्ष इरानका महिलाले हिजाफबिरुद्ध लामो सङ्घर्ष गरे । पश्चिमी सञ्चार माध्यम र बौद्धिक जगतले हिजाफ बिद्रोहमा सहयोग ग¥यो । तर हिजाफ नलगाउने पश्चिमी देशका महिला हिंसाको विषयमा मौनता साध्ने गरेका छन् । महिला अभियन्ता डलिमा मोगाहेदले त्यसप्रकारको विरोधाभासको सन्दर्भमा ‘हामीले सार्वजनिक स्थलमा कामुक देखिंदा मात्रै महिलालाई स्वतन्त्र ठानेका हौँ ?’ प्रश्न गर्छिन । पश्चिमी संसारले कामुकता र उपभोक्तावादलाई नै स्वतन्त्रता मान्ने भाष्य निर्माण गरिरहेको छ ।

पुँजीवादको विरुद्ध समाजवादले महिला स्वतन्त्रतालाई गुणात्मकता प्रदान गरेको थियो । तर बहस र प्रश्नहरु थिए र छन् । रुसी क्रान्तिपछिको पहिलो मन्त्री मण्डल (समाज कल्याण कमिसार) मा एकमात्र महिला अलेक्जेन्ड्रा कोलनताई समावेश थिइन् । महिलाहरु बिश्वस्त र सन्तुस्ट हुनेगरी लैङ्गिक प्रश्नको समाधान नभएको गुनासो अलेक्जेन्ड्रा कोलनताई (सन् १८७२– १९५२, रुसी) को थियो । त्यही विषयमा लेनिन्संग मत नमिलेपछि अर्को वर्षमा नै राजिनामा दिइन् । सिमोन द वोउवरले समाजवादमा पनि पितृसत्ताको विरुद्ध महिलाको लडाई जारी राख्नु पर्ने बताएकी थिइन् । उता रोजा लक्जेम्वर्ग पनि पितृसत्तावाट जीवनभरी प्रताडित थिइन् । मानव जातिको युग दश हजार वर्षमा आठ हजार वर्षदेखि विभेद भइ आएको कारण त्यसको दुष्प्रभाव बहुआयामिक रहेको छ । महिलामाथि प्रशिक्षण, तालिम र खानपानमा समेत विभेद भएको कारण चेतनास्तर र शारीरिक अवस्थामा पनि प्रतिकूल प्रभाव परेको छ ।

आजको महिला आन्दोलनले लेनिन र क्लाराबीचको अन्तिम बहस, सिमोन द वोउवर र ज्या पाँल शात्रका विचारहरु, रोजाका भोगाई र पितृसत्ताका डराईहरु, लेनिन र कोलनताईबीचका मतभेदहरु, माओकालिन चीनले महिला स्वतन्त्रताको लागि गरेका प्रयासहरु सबैको साङ्गोपाङ्गो अध्ययन गर्नुपर्छ । समकालीन नेपाली महिला आन्दोलन मध्यम वर्गीय महिलाको सरोकारको नारा वरपर चक्कर मारिरहेको छ । नेपालको कानून र महिला आयोगले तिनै मध्यमवर्गको नारालाई सम्बोधन गरेको छ । लड्ने श्रमिक महिला, समस्याको केन्द्रमा श्रमिक महिला तर कानूनी सम्बोधन मध्यमवर्गको गरिएको छ । कम्युनिस्ट पार्टीनिकट महिला संगठन पनि मध्यमवर्गीय सरोकारका नारा वरपर घुमिरहेको छ । त्यसैले महिला आन्दोलन कमजोर भएको छ । त्यसकारण श्रमिक महिला आन्दोलनलाई क्रान्तिकारी विचारको जगमा पुनर्गठन गर्नुपर्ने चुनौती प्रकट भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु