३५ लाख बराबरको चिनी र केराउ बरामद

२०८० फाल्गुन २२ गते, मंगलवार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासीले भन्सार छलेर अवैधरुपमा गोदाममा लुकाएर राखेको ३५ लाख बराबरको चिनी र केराउ बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको उक्त चिनी र केराउ गोदाममा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो ।
सुस्ता गाउँपालिका– १ बरुवाबाट सोमबार राति उक्त सामग्री बरामद भएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए । बरामद भएका सामग्रीमा ४० क्विन्टल चिनी र ३८० क्विन्टल हरियो केराउ रहेका छन् ।
एसपी वाग्लेले सुस्ता र प्रतापपुर गाउँपालिकाका सीमा नाकाबाट केही दिनदेखि जीप, मोटरसाइकल र साइकलबाट ओसारपसार गरी गोदाममा राखेको भन्ने सूचनाका आधारमा उक्त सामग्री बरामद गरेको बताए ।
एसपी वाग्लेले स्थानीय ज्ञानप्रसाद अर्याल (श्याम)को घर पछाडी रहेको गोदामबाट २५ केजी दरका १५७ बोरा चिनी र ३० र ५० केजीका १२५० बोरा केराउ बरामद भएको हो । अवैध सामग्री कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको बताउदै भने- ‘राति भएकाले व्यक्ति पहिचानभन्दा पनि सामान बरामदतर्फ लाग्यौं । गोदाममा रहेको जग्गा ज्ञानप्रसादले भाडामा दिएको भन्ने बुझिएकाले सम्बन्धित व्यक्तिलाई पनि पहिचान गर्ने काम भइरहेको छ ।’
बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि महेशपुर भन्सार पठाइएको छ । सशस्त्र प्रहरीले बरामद गरेर पठाएको चिनी र केराउको अन्दाजी मूल्य ३५ लाख बराबरको रहेको भन्सार प्रमुख बुद्धिबहादुर चुँडालले बताए ।
भारतमा भन्दा नेपालमा महंगो भएकाले सीमावर्ती नाकाबाट अवैधरुपमा चिनी र केराउन भित्रिने गरेको छ । सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका चौकी र पोष्ट भएपनि यी नाकाबाट ठूलो मात्रामा अवैध सामग्री भित्रिने गरेका हुन् ।
तस्करी गरेर राखेका सामग्रीको सूचना दिइए पनि सीमावर्ती नाकाका दुवै निकायका प्रहरीले वास्ता गर्ने नगरेको स्थानीयले गुनासो गर्दै आएका छन् । सूचनाका आधारमा १५ दिन पहिले सरुवा भएर आएका सशस्त्र प्रहरीका एसपी वाग्लेले ठूलो परिमाणको अवैध सामग्री बरामद गरेका हुन् ।

प्रतिक्रियाहरु