अहिले ‘व्यवस्था र नेतृत्व’को विकल्प दिनुपर्छ

२०८० माघ १८ गते, बिहीबार


देशको विद्यमान परिस्थिति, सम्भावना र चुनौतीबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ । विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ । फेरी नयाँढंगले सोच्दा कतै गलत ठाउँमा गईन्छ कि भनेर चिन्ता पनि ब्यक्त गर्नु भएको छ । त्यो स्वभाविक पनि छ । किन कि नयाँ ढंगले सोच्ने नाममा विगतमा कम्युनिस्ट आन्दोलनमा गम्भिर गल्ती र समस्या पनि पैदा भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि नयाँ गर्छौं भन्ने नाममा डर लाग्दो खाडलमा फसेको तितो अनुभव पनि छ । तर पनि यतिबेला हामीले नयाँ ढंगले सोच्नैपर्छ । सोच्ने तरिका र व्यवहारमा पनि नयाँपन जरूरी छ । हामीले अहिले जुन विषयमा बहस गरिरहेका छौं, यो भनेको नयाँ कुरा पत्ता लगाउने, अनुसन्धान गर्ने र सत्यको बारेमा निष्कर्ष निकाल्ने एउटा तरिका पनि हो । अथवा यो सहि र गलत के हो ? भन्ने कुरा छुट्याउने कसरी पनि हो । बहसमा उठान भएका विचार र तर्कहरु कतिपय ग्रहणीय छन्, कतिपय मननिय र कतिपय तर्कहरु विमर्श गर्न लाएकका पनि छन् ।

अन्तरक्रियाको आजको जुन विषय छ, यो कुनै एउटा पाटो मात्रै भन्दा पनि समग्रतामा आधारित छ । देशको आजको संकट र समाधानका विषयमा कुराकानी गर्ने भनेको आफैमा समग्र विषय हो । यो आफैमा ठुलो विषय हो । यस विषयमा विचार व्यक्त गर्ने सबै साथीहरूमा एउटा विषयमा समानता छ । त्यो भनेको देश इतिहासमै सर्वाधित संकटमा छ भन्ने कुरा हो । यो सहि कुरा हो । यो कुरा त अहिले राजनीतिक विश्लेषक र विज्ञहरूले मात्रै होइन, सामान्य नागरिकहरुले पनि भन्न थालेका छन् । देशको आजको अवस्था नागरिकको जीवनमा व्यक्त भइरहेकोले पनि सबैले देश संकटमा छ भनिरहेका छन । देश संकटपूर्ण अवस्थामा छ भन्ने कुरा अब सबैले स्वीकार्ने स्थिति भयो । यो आम सहमतिको बिषय जस्तो भयो । तर अब हामीले देशमा किन संकट उत्पन्न भयो ? र यसको सहि उपचार के हुनसक्छ ? भन्ने निचोड निकाल्नु राष्ट्रिय राजनीति र देशका लागि जरुरी सवाल हो । देश र समाजका लागि निरन्तर संघर्ष र योगदान गरिरहेका पार्टीका नेताहरुको लागि यो जरुरी छ । यसबारेमा देशका सबै अर्थशास्त्री,सामाजिक, कार्यकर्ता, बुद्धिजीबी र देशलाई माया गर्नेहरूले गम्भिर ढंगले सोच्ने बेला आएको छ ।
देशको परिस्थितिलाई हामीले वस्तुगत रूपमा हेर्नुपर्छ । मान्छेको मनोगत चाहना र इच्छाले मात्रै देश चल्न सक्दैन । अहिलेको विश्वको चरित्र हेर्यौ भनेपनि विगतमा प्रतिस्पर्धात्मक अवस्थामा रहेको शक्ति समिकरण अहिले दुश्मनीपूर्ण अवस्थामा बदलिन खोज्दैछ । युक्रेन–रुस, प्यालेस्टिन – इजरायल र इरान –पाकिस्तान युद्धसम्म आउँदा त्यो स्थिति थप स्पष्ट भएको छ । यो कुरालाई पनि हामीले ध्यान दिनैपर्छ । अर्कोतिर हामीले देशभित्रको परिस्थिति र अन्तरबिरोधलाई पनि वस्तुसंगत रूपमा हेर्नुपर्छ । हाम्रा बनिबनाउ धारणाबाट हेरेर हुँदैन । हामीले पहिले जे भनिरहेका थियौ,परिस्थितिको विश्लेषणका सन्दर्भमा, अब पनि त्यहि भनिरहनुपर्छ भन्ने होइन । त्यसरी सोच्ने कुरा माक्र्सवाद पनि होईन । हामीले अहिलेको राजनीतिक, आर्थिक, सामाजिक, राष्ट्रियता र विकास प्रक्रियाका आधारमा हेर्नुपर्छ र धारणा बनाउनुपर्छ । यी सबै क्षेत्र र हाम्रा सूचांकको आधारमा हेर्ने हो भने देश संकट र नकरात्मक ठाउँमा छ भन्न सकिन्छ ।

युरोपमा जतिबेला पुँजीवादको जन्म भयो र त्यो हुर्कियो, त्यतिबेला मुख्य रूपमा पुँजीवाद सामन्तवादसँग लडेर अगाडि आएको थियो । त्यो तत्कालिन अवस्थामा प्रगतिशील पनि थियो । पुँजीबादको तत्कालिन प्रगतिशील–चरित्रले नै त्यसले युरोप र विश्वमा प्रभुत्व जमाउन सकेको हो । प्रभाव पार्न सकेको हो । तर नेपालमा त पुंँजीवाद पनि कक्टेल प्रकारको भयो । ओर्जिनल बुर्जुवा समेत हुन सकेन । नेपालमा पुँजीवाद सत्ता र कुर्सीको खेल गर्ने र जसबाट आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने साधन बन्यो । चाहे त्यो काङग्रेसको नाममा होस् वा कम्युनिस्टको नाममा भएपनि । यसो हुनुमा काङग्रेसको बढी दोष छ । काङग्रेस प्रगतिशील हुन सकेन । कम्युनिष्टहरू पनि कम्युनिष्ट जस्ता हुन् सकेनन । यदि कोही सच्चा कम्युनिस्ट हुने बित्तिकै त त्यो क्रान्तिकारी तथा जनताको पक्षधर भैहाल्छ । यहाँ त लोकतन्त्रवादी भन्नेहरू पनि बद्नाम र हामी कम्युनिस्ट भन्नेहरू पनि बदनाम भयौ । अझ पछिल्लो समयमा त झन् राजनीति भनेकै सत्ता र स्वार्थका लागि हो भने बुझिदैछ । सत्ता र स्वार्थका लागि देशलाई दाउ हान्ने, विदेशीहरुसँग सौदाबाजी गर्ने प्रवृत्ति बढ्‌दै गएको छ । सत्तामा पुगिसकेपछि राजनीति शक्तिको दुरुपयोग गर्ने प्रवृति छ । संसदीय राजनीतिमा यो समस्या छ तर सबै राजनीति व्यवस्थामा यस्तै हुन्छ भन्ने होइन भनेर विषयलाई हामीले स्पष्ट पार्नुपर्छ ।

नेपालमा संसदीय राजनीति देश र जनता विरुद्ध क्राइम गर्ने ठाउँमा परिणत भयो । जसको मारमा जनता र देश परिरहेको छ । वैचारिक रूपमा पनि संसदीय राजनीतिमा निकै ठूलो विचलन देखिदैछ । हुनतः अक्टोबर कान्तिको समयमा लेनिनसमेत संसदमा जानुभएको थियो। संसदमा जाने बित्तिकै संसदवादी भैहाल्ने र नजाँदैमा क्रान्तिकारी पनि भईदैन । लेनिन क्रान्तिका निम्ति दुमामा गएकोले उनी संसदवादी भएनन । नेपालका कम्युनिस्टहरू आफ्नो जनवाद र समाजवादको उद्देश्य छोडेर संसदवादमा गएपछि उनीहरु बदनाम छन । एमालेले सबैभन्दा बढी त्रुटी गरेको ठाउँ नै त्यो हो । ०६२÷०६३ पछि माओवादीले गरेको कमजोरी पनि त्यही नै हो । जब कम्युनिष्ट पार्टीमा बहस हुन्छ, सहि र गलतका बीचमा बहस हुन्छ । यस्तो बेला सचेत मानिसहरुले मात्रै के सहि र के गलत ? भनेर छुट्याउँछन् तर आम मान्छेहरुलाई के सहि र के गलत ? भन्ने छुट्याउन गाह्रो हुन्छ । गणतन्त्र पछि भएका राजनीतिक बहसमा के सही थियो ? र के त्रुटी थियो ? भन्ने कुरा एकपटक फेरी छलङ्र्ग भएको छ । आफ्नो राजनीति छोड्ने र बुर्जुवा राजनीतिमा जाने कुरा नै नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य त्रुटी पनि हो । यो नै प्रमुख समस्या पनि हो ।

०६२÷०६३ सालमा नै नेपालमा श्रमिक वर्ग पहिलो पटक शक्तिशाली भएको थियो । यसको अर्थ नेपालको कम्युनिष्ट आन्दोलन शक्तिशाली थियो भन्ने हो । नेपालका इमान्दार क्रान्तिकारीहरु शक्तिशाली थिए भन्ने हो । त्यो वेला ठकी ढंगले सोचेको भए के हुन्थ्यो ?देशका अगाडि अहिलेका समस्याहरु आउने थिएनन । त्यो बेला जनताले जे भन्यो, त्यही हुने अवस्था थियो । त्यो बेला काङ्ग्रेसले पनि आफुलाई समिक्षा गर्नुपर्ने परिस्थिति बनेको थियो । अरु राजनीतिक शक्तिहरुले पनि आफुलाई रिभ्यू गर्नुपर्ने स्थिति बनेको थियो त्यो बेला । अहिले त काङ्ग्रेसहरुले नै कम्युनिष्टहरुलाई रिभ्यू गर्न लगाउँलान जस्तो वातावरण भयो । स्थिति एउटै ठाउँमा नरहँदो रहेछ । नेपालमा हामीले एउटा युगको अन्त्य गरेकै हो । यद्यपि त्यो रातारात भएको थिएन । त्यसमा राणाविरोधी आन्दोलन देखि जनताको त्याग, संघर्ष र बलिदानको लामो इतिहास र प्रक्रिया छ । त्यो त उत्कर्षमा गएको स्थिति मात्रै थियो । त्यसमा प्रगतिशील लोकतन्त्रवादीहरु देखि कम्युनिष्टहरुले गरेका संघर्षहरुलाई पनि जोडेर हेर्नुपर्छ । त्यति मात्र होईन मजदुर, किसान, मध्यमवर्ग र देशभक्तहरुले गरेको संघर्षको परिणाम पनि हो ०६२÷०६३ को आन्दोलन । यसमा नेपालका कम्युनिष्टहरु र माओवादीहरुले समीक्षा गर्नुपर्ने कुरा के हो भने त्यो बेला जनतालाई सत्तासिन बनाउन सकिएन । त्यो सम्भावना प्रवल नै थियो । त्यो बेला जनतालाई सत्तामा ल्याएर देशलाई मुक्त गर्ने सम्ंभावना थियो । यदि यस विरुद्ध षड्यन्त्र भए जनतालाई विद्रोहको अपिल गर्न सकिने स्थिति थियो । यसबारे गम्भिर समीक्षा जरुरी छ ।

हामीले विगतमा लडाई लड्दा एकातिर सामन्तवाद र राजतन्त्र थियो भने अर्कोतिर संसदीय प्रतिक्रियावाद थियो । हामी ती दुवैका विरुद्ध लडेका थियौँ । राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध लडेका थियौँ । तर प्रणाली जनताको बनाउन सकिएन । त्रुटी नै के भयो भने जनता सत्तासिन भएन । बरु अर्को वर्ग शक्तिमा आयो । यस्तो वर्ग सत्तामा आयो कि रातारात दलाल वर्ग शक्तिशाली हुने स्थिति भएर गयो । माक्र्सवाद वा समाज विज्ञानमा राजनीतिक रुपमा कसरी लामो समयसम्म दुइटा बाटो हुनसक्छ ? राजनीतिमा कि त वुर्जुवा लाईन हुन्छ, कि त श्रमिक वर्गको लाईन हुन्छ । कि सत्ता वुर्जुवाको हुन्छ, कि त श्रमिक जनताको सत्ता हुन्छ । बीचमा कुनै यस्तो संयुक्त सत्ता भएछ भने पनि त्यो संक्रमणकालीन मात्रै हुन्छ । लेनिनले त समाजवाद नै संक्रमणकालीन व्यवस्था हो भनेका थिए । त्यहाँ पँुजीपति वर्गले जित्ने कि सर्वहारा वर्गले जित्ने कुराको फैसला भएको हुँदैन समेत भनेका थिए । माओले समेत नयाँ जनवाद संक्रमणकालीन हुन्छ समाजवादमा जानका लागि भन्नु भएको थियो । हामीले ०४६ वरिपरि पनि संसदीय व्यवस्था जनविरोधी व्यवस्था हो भनेकै थियौँ । त्यो कुरा अहिले पनि सत्य हो । राजतन्त्र हटेर त्यसपछि आएको संसदीय लोकतन्त्रलाई डेन्टिङपेन्टिङ्ग गर्दैमा हुनेवाला थिएन । संसदीय व्यवस्थाले प्रतिनिधित्व दलाल पँुजीवादको गरेको थियो । यसले नेपालका श्रमिक जनता, सामाजिक रुपमा विभेदमा परेका सामूदायको प्रतिनिधित्व गरेको थिएन । यसले देशको पनि प्रतिनिधित्व गरेको थिएन । यसको चरित्र नै देशविरोधी र जनविरोधी भयो । भन्न खोजेको कुरा के हो ? भने अहिलेको समस्याको मुख्य स्रोत नै यो राज्यसत्ता हो । संसदीय व्यवस्था र सत्तासिन दलाल पुँजीपति वर्ग नै समस्या हो। त्यसैले अब समस्याको समाधान गर्ने भनेको नै यो सत्ताको अन्त्य गर्नु हो ।

माक्र्सवादी दर्शन अनुसार पनि बस्तुले चेतना बनाउने हुन्छ । आन्दोलनको कुन तह÷स्तरमा छौँ भन्ने आधारमा नै कम्युनिस्ट पार्टी र नेताहरुले आफ्नो सोच बनाउने कुरा हुन्छ । किन कि डे–टु डे नै उनिहरुले त्यो स्तरमा टक्राउनु परिरहेको हुन्छ । उसको संघर्ष त्यहा परिरहेको हुन्छ । त्यसलाई क्रस गर्ने, विचार, योजना, नीति र पार्टी आवश्यक हुन्छ । यदि तपाई सशस्त्र ढंगले अगाडि बढ्न चाहनु हुन्छ भने संघर्ष गर्ने फोर्स चाहिन्छ । यदि जनसंघर्ष हो भने सडकमा आउने जनता चाहिन्छ । होईन बौद्धिक विलास मात्रै गर्ने हो भने केही मान्छे मात्रै भएपनि हुन्छ । उसले जे गरेपनि हुन्छ । एक्लै हिडेपनि हुन्छ । नेपालको अर्थतन्त्रको चरित्र राष्ट्रिय छैन । राष्ट्रिय हुने भनेको आत्मनिर्भर हुने कुरा हो । हाम्रो अर्थतन्त्रको विशेषता प्रोडक्ट गर्ने खालको छैन । यसको विशेषता व्यापार गर्ने मात्रै छ । समस्या त्यहाँ छ । सरकारका कर्मचारीहरुले समेत हाम्रो अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा छ भन्छन । यसको चरित्र दलाल छ । यो आयातमुखी छ । कर्पोरेट पुँजीवादले उत्पादन गरेको माल स्वदेशमा भित्र्याएर त्यसबाट केही प्रतिशत खाएर सत्तासिन हुने र उनीहरुकै वकालत गर्ने पुँजीवाद छ नेपालमा । सामाजिक रुपमा पनि कोही सुरक्षित छैन । परिणाम के भयो ? भने देशमा नागरिकहरुले आफ्नो भविष्य नदेख्ने स्थिति आयो । यसको जिम्मेवारी कसले लिनुपर्छ ? राज्य र राज्यका सञ्चालकहरु जिम्मेवार हुनु पर्दैन ? उनीहरु जिम्मेवार हुनैपर्छ । यसको समाधान कसरी गर्ने ? साझा दृष्टिकोण जरुरी छ । जबसम्म दलाल पुँजीवाद र यसको प्रणाली रहन्छ तबसम्म समस्याको समाधान होइन कि अझ डरलाग्दा समस्याहरु पैदा हुनेछन् ।

युक्रेन आफैमा विकसित देश हो । आर्थिक सूचांकहरु÷विकासको स्तर राम्रै भएको देश हो । अहिले उसका उत्पादनका केही केन्द्रहरु छन् । त्यसलाई रसियाले आफ्नो नियन्त्रणमा लिईसकेको छ । ९० को दशकपछिको अमेरिकी धुव्र र पछिल्लो विश्व शक्तिसन्तुलनमा आइरहेको हेरफेर पछिको परिणामका कारण उत्पन्न स्थिति हेर्दा नेपालको स्थिति के हुँदै छ ? कता जादैछ ? विचार गर्नुपर्ने बेलाआएको छ । हामीले यो विषयमा ध्यान दिन सकेनौ भने नेपाल दक्षिण एशियाको युक्रेन बनाईदैछ । त्यसका लागि एमसीसी हो, त्यसैका लागि इण्डोप्यासिफिक स्ट्राटेजी बनाईएको हो । किनकी अहिलेको विश्वका नयाँ शक्ति र पुराना शक्तिहरुको टसलले त्यो परिस्थिति बन्दैछ । नेपाललाई अमेरिका वा चीन कसको नियन्त्रणमा राख्ने ? भन्ने दाउपेच चलिरहेको छ । जेलेन्स्कीले यहि कुरा नजान्दा युक्रेनको यो हालत पुगेको हो । नेपालमा पनि शासकहरुले यो कुरा समयमै विचार नगर्ने हो भने युक्रेनको स्थिति हुनेछ । देश र जनतालाई यो खतराबाट बचाउन नेपालका कम्युनिस्टहरुले पहल लिनुपर्छ ।

दलाल पुँजीवाद हाम्रो सारा समस्याको केन्द्र हो । यो निकै नाङ्गीएको पनि छ । लेनिनले एकपटक कस्तो बेला देशमा विद्रोह हुन्छ र सत्ता पल्टिन्छ भन्ने कुराको विश्लेषण गर्दै शासकहरु पुरानै ढंगले सत्ता सञ्चालन गर्न असमर्थ हुनु र जनताहरु उनीहरुको शासनमा बस्न नसक्नु÷ असमर्थ हुनु वा यी दुई परिस्थिति हुनु नै बिद्रोहको बस्तुगत आधार हुन्छ भनेका थिए । नेपालमा अहिले त्यस्तै स्थिति छ । अर्कोतिर संकट पनि डरलाग्दो छ । यसको समाधानका निम्ति हामीले अहिले सोच्ने बेला आएको छ । हामी कम्युनिस्टले सोच्ने, डिस्कर्ष गर्ने र निष्कर्ष निकाल्ने त्यहाँ हो । यसमा थप छलफल पनि गर्दै जाऔ भन्ने हो । यस्तो बेला कम्युनिस्टहरु, प्रगतिशील लोकतन्त्रवादी र देशभक्तहरुले ठिक ढंगले सोच्न सकेनन् भने देशलाई खतराबाट बचाउन सकिन्न । अहिले विद्यमान व्यवस्था ठीक छ भनेर शासकहरुले पनि वकालत गर्न सक्ने स्थिति छैन । काङ्ग्रेसकै मानिहरुसँग छलफल गर्दा समेत समस्या गम्भिर छन् भनेर उहाँहरु स्वीकार्नु हुन्छ । एमाले नेताहरु पनि त्यो कुरा भन्नु हुन्छ । त्यसैले साम्राज्यवाद र दलाल पुँजीवादले पनि आफ्नो स्थितिमा केही न केही सुधार नगरी नहुन्ने आवश्यकता छ । उनीहरुको रक्षाको निम्ति पनि त्यसो गर्नु अनिवार्य छ, यो संकट उनीहरुको पनि हो ।

साम्राज्यवादलाई अहिले नेपालमा नयाँ–नयाँ दलाल चाहिएको छ । अन्य पुराना पार्टीहरु मार्फत अब काम चल्न असम्भव ठानेपछि उसले ती पार्टी बाहेक अरुलाई पनि उनीहरुले प्रयोग गर्दै आएका छन् । हाम्रा विरुद्धका पटक–पटकका हल्ला र षड्यन्त्रले पनि तथ्यहरुलाई सावित गरि नै रहेको छ । हामी साम्राज्यवादको षड्यन्त्रलाई परास्त गरि छाड्छौँ । किन कि हामी जनताका प्रतिनिधि हौँ । हामी देशका सच्चा प्रनितिधि हौँ । देशको रक्षा गर्नु हाम्रो दायित्वभित्र पर्छ । हामी जुन बर्गका प्रतिनिधि हौँ, त्यसका सीमा ,आवश्यकता र अनिवार्यताहरु के–के छन ? त्यो हामी बुझ्छौ । त्यसकारण नै लेनिनले जनतालाई कम्युनिस्ट पार्टी चाहिन्छ भन्नु भएको थियो । जनता विरुद्ध षड्यन्त्र भैरहेको बेला त्यसलाई बुझ्ने र सामना गर्ने असली कम्युनिस्ट पार्टी चाहिन्छ ।

कम्युनिस्टहरुले अझ क्रान्तिकारी कम्युनिष्टहरुले नयाँ ढंगले सोच्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा दुश्मनलाई दुश्मन नदेख्ने बरु मित्रहरु÷ भाइचारालाई दुश्मन देख्ने कुरा डरलाग्दो समस्या हो । हामी यो प्रवृतिको रुपान्तरण चाहान्छौँ । कम्युनिस्टहरुलाई कम्युनिस्टले नै दुश्मन देख्ने कुरा माक्र्सवादी प्रवृति पनि होइन । तर कम्युनिस्टहरुका विचारमा भिन्नताहरु हुन सक्छन्, त्यहाँ वहसका विषय हुन सक्छन । राजनीतिक लाईनमा अन्तरहरु हुनसक्छन् । तर त्यो दुश्मन होइन । विश्व कम्युनिष्ट आन्दोलन र नेपालमा पनि पार्टी भित्रका बहसहरु विचार केन्द्रित भन्दा पनि पद केन्द्रित र प्रतिष्ठा केन्द्रित भयो । त्यसैको आधारमा फुट र विभाजन आउन थालेपछि कम्युनिस्ट पार्टीहरु बिचको संघर्ष त गैरराजनीतिक प्रकारको हुने भैहाल्यो । आग्रह, पूर्वाग्रह र बदलाभावको सिकार भयो नेपालको कम्युनिष्ट आन्दोलन ।
त्यसकारण सर्वप्रथम त कम्युनिष्टहरु भनेका आफ्नै मान्छेहरु हुन भन्ने दृष्टिकोण बनाउन प¥यो । दृष्टिकोण बदल्न पर्यो । अनि कति सहकार्य गर्न सकिन्छ–सकिन्न बहस गरौँ । सहकार्य गर्न नसक्दैमा अर्कोलाई दुश्मनको भित्तामा किन धकेल्ने ? यो प्रवृत्तिका बारेमा कम्युनिस्टहरुले सोच्नैपर्छ । समस्या समाधान र देशका विद्यमान चुनौतीको सामना गर्न कम्युनिस्ट पार्टीहरुले नै पहल लिनुपर्छ । हामीले स्पष्ट गर्नुपर्ने विषय अर्को के छ भने, नेपालमा जसलाई वुर्जुवा भनिरहेका छौ । उनीहरु भित्र पनि कमप्राडर वुर्जुवा र डेमोक्रेटिक वुर्जुवा बीच फरक छुट्याउन जरुरी छ । यसलाई अब सोलोडोलो रुपमा एउटै प्रकारले बुझनु हुँदैन । डेमोक्रेटिक वुर्जुवासँग सहकार्य गर्नुपर्छ । माओले जापानी साम्राज्यवाद विरुद्धच्याङकाइ शेकसँग संयुक्त मोर्चा गरेको विषयलाई पनि स्मरण गर्नुपर्छ । देश बचाउनका निम्ति माओले त्यसो गरेका थिए ।

विगतमा हाम्रो राष्ट्रियताका कैयौँ क्षेत्रमा भारतियहरुको हस्तक्षेप थियो र छ । कोशी, गण्डकी, अपरकणार्ली उनीहरुकै नियन्त्रणमा छन् । सीमा समस्या,खुल्ला सीमाना, सीमा विवाद, व्यापार र वार्णिज्य,नागरिकता लगायतका कैयौँ मुद्धाहरु भारतसँग जोडिएका छन् । तर पछिल्ला दिनहरुमा अमेरिकी साम्राज्यावद राष्ट्रिय स्वाधीनताका लागि खतरा भएर आयो । यो अहिलेको सत्य हो । अन्तरविरोधको अहिलेको यो सवाललाई पनि प्रधान र गौण के हो भनेर हेर्नु पर्यो । त्यसैले यो वेला सच्चा कम्युनिस्टहरुले देशभक्तहरुसँग सहकार्य गर्नुपर्छ । अहिले कम्युनिस्टहरु, डेमोक्रेटिक लोकतन्त्रवादीहरु र देशभक्तहरुको मोर्चा चाहिन्छ । त्यसको पहल कम्युनिष्ट क्रान्तिकारीहरुले गर्नुपर्छ । कम्युनिष्ट पार्टीहरुबीच विचार मिल्नेहरुसङ्ग एकता गर्ने, मुद्धा मिलेहरुसङ्ग सहकार्य र कार्यगत एकता कायम गर्ने र त्यो पनि मिलेन भने एक अर्कोको विरोध नगर्ने ढंगले सोच्नुपर्छ । हामीले आजको अन्तरविरोधको समाधान गर्न र चुनौतीहरुको सामना गर्न उन्नत नयाँ विचार र आफ्नो वर्गको आधारमा मात्रै सम्भव छ । क्रान्ति भनेको सामाजिक आवश्यकतामा गर्ने चिज हो । त्यो पुस्तान्तरण गर्ने कुरा होइन । माओ, लेनिन, माक्र्स कसैको समयमा पनि सामाजिक क्रान्ति पुस्तान्तरण भएको थिएन र छैन । त्यसैले हामीले अहिलेको व्यवस्था र नेतृत्वको विकल्प दिनुपर्छ ।
(नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता प्रकाण्ड सी ले २०८० माघ १३ गते काठमाडौंको महाराजगञ्जमा आयोजित “वर्तमान संकट र समाधान विषयक अन्तरक्रियामा व्यक्त मन्तव्यको पत्रकार शेरवहादुर विश्वकर्माद्धारा सम्पादित सामग्री )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु