सन्दर्भ: ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ का कुरा

चिरन सी २०८० भाद्र २० गते, बुधबार


प्रारम्भ :
करिब २ हप्ताको बिचमा मेरो शब्द र सङ्गीत रहेको दुईओटा गीत ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ चिरन पुनको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक भएको छ । यी दुवै प्रगतिशील अथवा हाम्रो भाषामा जनवादी गीतहरू हुन् । प्रगतिशील अथवा जनवादी गीतको कुरा गर्दा धेरै मानिसहरूलाई पार्टीको गीत वा राजनीतिको गीत भन्ने बुझाइ रहेको छ, जुन गलत कुरा हो । म कुनै चाडपर्वप्रति आक्रशित हुने र प्रभावित हुने मान्छे पहिल्यैबाट होइन, कहिले दसैँ आऊला र निधारभरि चामल र जमरा थोपरेर हिँडौँला, कहिले तिहार आऊला र निधार ढाक्ने गरी टीका र माला लगाऊँला, कहिले तीज आऊला र तीजको मेलामा ठाटिएर हिँडौँला भन्ने कहिल्यै भएन । कहिले बर्थ डे पार्टी आऊला र केक काटेर मनोरञ्जनमा रमाऊँला वा फेसवुकका वालहरु भरौला भन्ने पनि कहिल्यै भएन । सवै पुरानो संस्कृतिहरु भनेको एकप्रकारको मान्यता हो, त्यसलाई मानव समाजले स्थापीत गरे त्यो सस्कृति बन्छ, होईन भने त्यो केही पनि हुदैन र त्यो सामान्य वन्दछ ।

हामी भौतिकवादी मान्छे भएका कारणले पनि कुनै धार्मिक चाडवाडहरूलाई ठूलै मान्यता दिने कुरा पनि भएन । त्यसप्रकारको अनुकूलताको खोजी गर्दै हिँड्ने परिवेश पनि कहिल्यै बनाउने कोसिस गरिएन । तर, जीवनमा आफू आबद्ध भएको पार्टी र सांस्कृतिक सङ्गठनहरूको निर्णयका आधारमा तिहारमा देउसी–भैली कैयौँँ वर्ष कैयौँँ जिल्ला र देश–विदेशका सहरहरूमा मेरै नेतृत्वमा पनि खेलियो । दसैँको मेलाहरूमा कैयौँँ वर्ष र कैयौँ जिल्लाका सहरहरूमा जनवादी–प्रगतिशील सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो, कैयौँ तीजका मेलाहरूमा प्रगतिशील तीजको गीत गाउन लगाएर नाच्ने कार्यक्रमहरूको आयोजना पनि गरियो र गर्न लगाइयो ।

विगतका दिनहरूमा तत्–सन्दर्भमा तत्–परिवेशका केही गीतहरू लेख्ने र ती गीतहरूमा सङ्गीतहरू भर्ने कार्य गरेको थिएँ । पछिल्लो समय मैले जनवादी, प्रगतिशील गीतहरू प्रशस्तै लेख्ने र सङ्गीत भर्ने कार्यलाई निरन्तरता दिएको भए तापनि कुनै चाडवाड विशेष गीतहरू लेख्ने र सङ्गीत भर्ने कार्य गर्ने त्यति रुचि थिएन मलाई । तर पनि, यो वर्ष तीजसम्बन्धी दुईओटा प्रगतिशील गीत लेख्नैपर्ने परिस्थिति बन्यो र ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ गीत लेखियो र भिडियो पनि बन्यो र यी दुवै गीतलाई राम्रो बनाउन कोसिस पनि गरिएको छ र, आउने सुझाव, सल्लाह, टीका–टिप्पणी, आलोचना सबैलाई हार्दिकतापूर्वक निमन्त्रणासहित अपेक्षा र स्वीकार गरिएकै छ ।

गीत–सङ्गीतमा पक्षधरता :
गीत–सङ्गीतको पक्षधरता हुन्छ कि हुँदैन ? यो बहस नेपालमा पुरानै हो । विज्ञानको प्रयोग र पक्षधरता, प्रकृतिको प्रयोग र पक्षधरता, दर्शनको प्रयोग र पक्षधरता, संस्कृतिको प्रयोग र पक्षधरता, अर्थनीतिको प्रयोग र पक्षधरता हुन्छ । त्यसैले, मानव समाजमा द्वन्द्व छ । एकाथरीका मान्छेहरू गीत–सङ्गीतमा पक्षधरता हुँदैन भन्दै हिँडिरहेका छन्, जुन कुरा गलत छ । उनीहरूले कला केवल कलाको लागि मात्र भन्ने युरोपबाट पैदा भएको बासी विचारलाई बोकेर हिँडिरहेका छन् । वर्गको पक्षधरता, समुदायको पक्षधरता, जाति, धर्म, शोषण, उत्पीडन, समानता, आँसु, खुसी, प्रेम, रोदन, विछोड, मिलन, अधिकार, राज्यसत्ता, खोला–नाला र प्रकृति, विद्रोह, आन्दोलन र क्रान्ति आदि इत्यादिमा पक्षधरता हुन्छ भने अनिवार्य गीत–सङ्गीतमा पनि पक्षधरता जोडिएर आउँछ । यो कुरा हामी सबैले बुझ्न आवश्यक छ । त्यसमा पनि जनवादी प्रगतिशील कलाकार र स्रष्टाहरूले झनै बुझ्नुपर्नेछ । यसले हामीलाई हाम्रो सुन्दर कर्ममा टिकाइराख्न मद्दत गर्नेछ र बल पुग्नेछ । निरन्तरता कायम राख्नु भनेको एकप्रकारको लडाइँ जित्नुसरह हो । त्यसैले हामी जनवादी कलाकारहरूले आफ्नो लक्ष्य र अभीष्टलाई पूरा गर्न माखाको मुन्टोजस्तो सोचाइ होइन, आकासभन्दा विशाल र निश्चल सोचाइ तथा सहकार्य गर्न तत्पर रहनुपर्दछ । बर्ग दुश्मनप्रतिको उत्तिकै घृणा र वर्गमित्रसँग उत्तिकै सहकार्यले मात्र हाम्रो बाटोलाई अझ फराकिलो बनाउन मद्दत गर्नेछ ।

कम्युनिस्ट संस्कृति र आज :
आज नेपालमा हाबी भएको दलाल पुँजीवादी संस्कृति हो । पाश्चात्य साम्राज्यवादी संस्कृति हो । त्यसैले, सकेसम्म हामी माक्र्सवादी वा भौतिकवादीहरूले यसप्रकारका संस्कृति र धार्मिक चाडवाडलाई माक्र्सवादी र भौतिकवादी दृष्टिकोणअनुसार आफ्नो व्यवहारमा रूपान्तरण गर्न अनिवार्य हुन्छ तर हामी कम्युनिस्टहरूबिच दर्शनको बारेमा केही छलफल भए पनि अर्थतन्त्रबारे, राजनीतिबारे, कार्यशैलीबारे, संस्कृतिबारे, सत्ताबारे, जातजातिबारे, धर्मकर्मबारे, जन्मबारे, मृत्युबारे, प्रकृति आदि इत्यादिसम्बन्धी विषयमा छलफल गर्ने र माक्र्सवादी, भौतिकवादी दृष्टिकोणअनुसार आफ्नो जीवन–व्यवहार बदल्न छलफल, निर्णय र समान धारणा तथा भौतिकवादी निष्कर्ष निकाल्न सकिरहेको अवस्था छैन ।

हामी आफूलाई कम्युनिस्ट भन्नेहरूले धर्मलाई अफिम भन्ने पढ्दै आयौँ तर व्यवहार चरम प्रकारको रुढिवादी, सामन्तवादी, पँुजीवादी र साम्राज्यवादी प्रकारको अवलम्बन गर्दै आयौँ । न जातपात मान्न छोड्यौँ, न पूजाआजा गर्न छोड्यौँ, ज जनै लाउन छोड्यौँ, न मन्दिर धाउन छोड्यौँ, न दसैँ आउँदा एक माना चामल निधारमा टाँसेर गफिँदै फोटो खिँचाउन छोड्यौँ, न चाडवाड मान्न छोड्यौँ, न बर्थ डे पार्टीमा झुम्मिन छोड्यौँ, न भैँसी पूजा गर्न छोड्यौँ, न मन्दिर धाउन छोड्यौँ, न काजकृया गर्न छोड्यो आदि प्रशस्तै ।

महान् सहित्यकार मेक्सिम गोर्कीले संस्कृतिलाई मानिसको दोस्रो रूप वा स्वभाव भन्नुभएको छ । तर, आज मानिसले स्वभावलाई नेतृत्व गर्ने होइन कि स्वभावले मानिसलाई दासी बनाइरहेको अवस्था छ । फेरि संस्कृति भनेको स्वविवेकले वा जबर्जस्त लादिएर हजारौँ वर्षअघिबाट स्थापित हुँदै आएका विषयहरु हुन् । मानिसले जीवन फाल्यौँ तर आफूले अवलम्बन गर्दै आएको संस्कृति छोडेन, विश्वभर ठुल्ठूला धार्मिक युद्ध भएका छन् र ती युद्धमा हजारौँ, लाखौँ मानिसको ज्यान गएको छ, यो क्रम अहिले पनि चलिरहेको छ । यस्तै–यस्तै सांस्कृतिक विरासतलाई तोड्न वा भत्काउन वा बदल्न चीनमा कमरेड माओको नेतृत्वमा १० वर्षसम्म महान् सांस्कृतिक क्रान्ति नै सञ्चालन गर्नुपरेको थियो । नेपालमा हामी कम्युनिस्टको संस्कृति के हुने ?, अर्थनीति के हुने, चाडवाडबारे धारणा के हुने, जन्म–मृत्युबारे के हुने ? राज्यसत्ता कस्तो हुने ? जातजातिबारे धारणा के हुन् ? धर्म–कर्मबारे के हुने ? आदि विषयमा छलफल नै हुन सकिरहेको छैन । त्यसैले नै कम्युनिस्ट भन्नेहरूको समान धारणा र व्यवहार पाइँदैन । नेपाल कम्युनिस्ट पार्टीले यसबारे पार्टीमा केही निर्णय गरेको छ र व्यवहारमा लाग्ू पनि गर्न खोज्दैछ । जातिबारे मैले एउटा नयाँ गीत लेखेको छु, त्यो आउँदैछ ः
हामी सी जाति किनकि हामी कम्युनिस्ट हौँ, किनकि हामी साम्यवादी ।

चिरन सी

गीत–सङ्गीतको आवश्यकता :
कविता गीतको कच्चा पदार्थ हो । कवितामा सङ्गीत, स्वर र वाद्यवादनको ताल मिसिएपछि गीत बन्दछ । आफ्नो विषय सजिलो ढङ्गले एकार्कामा सम्प्रेषण गर्ने सरल माध्यम हो, गीत–सङ्गीत । अथवा भन्ने गरिन्छ, ४ घन्टाको भाषणभन्दा ५ मिनेटको गीतले मानिसलाई आफ्नो विषय छिटो बुझाउन सकिन्छ । त्यसैले राज्यसत्ता, राजनीतिक पार्टी, सामाजिक, धार्मिक सङ्घ–संस्था सबैले आफ्नो विषय जनतामा लैजान गीत–सङ्गीतको प्रयोग गर्ने गरिएको छ । सायद म आफैँँ पनि सुरुको चरणमा प्रगतिशील तथा जनवादी गीत–सङ्गीत नसुनेको भए कम्युनिस्ट राजनीतिमा लाग्ने अवस्था नरहन पनि सक्थ्यो ! अझ भनौँ, कम्युनिस्ट आन्दोलनमा अत्यधिक मान्छेहरू जनवादी गीत–सङ्गीतको प्रभावले लागेका छन् वा पाइन्छन् ।

समाजमा गीत–सङ्गीतको बल वा तागत निकै शक्तिशाली हुन्छ । त्यसैले समाजमा गीत–सङ्गीतको आवश्यकता र महत्व दुवै छ । हरेक निराशालाई उत्साहको तरङ्ग भर्न, हरेक उत्साहलाई निरन्तरता कायम राख्न, हरेक पीडालाई आत्मसात् गर्न, हरेक विद्रोहलाई योजनाबद्ध सङ्गठित गर्न, हरेक सिपाईलाई जितको विश्वास दिलाउन, हरेक आँसुलाई हाँसोमा बदल्न, हरेक हाँसोलाई आँसुमा बदल्न, हरेक भावनालाई विचारमा जोड्न, हरेक संस्कृतिलाई पोख्न, हरेक विचारलाई विद्रोहमा बदल्न, हरेक विद्रोहलाई क्रान्ति र परिवर्तनमा समाहित गर्न, हरेक मृत्युलाई सहर्ष स्वीकार गर्न आदि सबैमा गीत–सङ्गीतले निकै ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले नै गीत–सङ्गीतलाई त्यो रूपमा सबैले प्रयोग गर्ने गरेको देखिन्छ, वा पाईन्छ ।

नेपालमा गीत–सङ्गीतको अवस्था :
मूलतः नेपालमा चार प्रकारका गीत–सङ्गीत निर्माण हुने, बज्ने र बजाइने गर्दछन् । प्रथम– माया, प्रेम र दलाल पुँजीवादी र मूलतः साम्राज्यवादी पाश्चात्य संस्कृतिसँग सम्बन्धित, दोस्रो– जनता र राष्ट्रको हकअधिकार, उत्पीडन, शोषण, दमन र समानतासँग सम्बन्धित, तेस्रो– राज्य र राजनीतिक पार्टीहरूले आफ्नो कार्यनीति र रणनीति प्रचार गर्ने उद्देश्यसँग सम्बन्धित र, चौथो– धर्मसँग सम्बन्धित । यसमा हामी जनवादी कलाकारहरूले रोज्ने विषय भनेको दोस्रो विषयसँग सम्बन्धित छन् । त्यसकारण, हामीले यसैको रक्षा, विकास, प्रवद्र्धन, प्रकाशन र प्रचार–प्रसारमा आफूलाई समाहित बनाउने गरेका छौँ ।

गीत–सङ्गीतको प्रकाशन र व्यवस्थापन :
पहिला–पहिला मलाई लाग्ने गर्दथ्यो, गीत–सङ्गीत भनेको सजिलो कुरा हो । रेकर्ड गरे भइहाल्छ, पुगिहाल्छ, बजिहाल्छ र बजाइहाल्छन्, हेरिहाल्छन् र सुनिहाल्छन् जस्तो । धेरै पछि गएर मात्र मैले बुझेँ कि यो काम निकै कठीन र जटिल रहेछ । यो क्षेत्रमा पनि व्यावसायिक र प्राविधिक मानिसहरूले धेरै मिहिनेत गरिरहेका रहेछन् । यो क्षेत्रमा पनि निकै क्षमतावान् र विज्ञताको आवश्यकता पर्ने रहेछ । त्यसैले भन्दा रहेछन् गीत–सङ्गीतको महत्व विश्वव्यापी र सर्वव्यापी हुने रहेछ ।

एउटा गीत सिर्जना गरेर बजारसम्म लैजान दर्जनौँ दिग्गज क्षमताहरूको सचेत पहलको र खाँचो पर्दछ । गीतकारले राम्रो शब्द लेख्नुप¥यो, सङ्गीतकारले राम्रो सङ्गीत भर्नुप¥यो, सङ्गीत संयोजकले राम्रो बाजागाजा र फिल आउने सङ्गीत संयोजन गरिदिनुप¥यो, सङ्गीत संयोजकले बनाएको भावलाई पकडेर दिग्गज वाद्यवादक साथीहरूले बाजागाजाहरू बजाइदिनुप¥यो, गायकले गीतको शब्द र सङ्गीतको मर्मअनुसार राम्रो आवाज अथवा स्वरले गीत गाइदिन सक्नुप¥यो, गीत रेकर्ड गर्ने स्टुडियोले गीत राम्रो रेकर्डिङ गरिदिनुप¥यो, स्टुडियोहरूमा रेकर्डिङ गर्नु रेकर्डिस्ट साथीहरूमा दक्षता स्तरमाथि रहनुप¥यो र रेकर्डिङको काम राम्रो गरिदिनुप¥यो, मिक्सिङ र मास्टरिङ गर्ने साउन्ड इन्जिनियरहरूले निकै बुद्धि र विवेकको प्रयोग गरेर गीतलाई मिस्सिङ तथा मास्टरिङ गरिदिनुप¥यो ।

आजभोलि बिना–भिडियोको गीत त्यति धेरै मानिसहरूले रुचाएको पाइँदैन वा सुन्ने गीत त्यति धेरै चलेको पाइँदैन । आजभोलि त सुन्ने गीतबाट हेर्ने गीतमा फड्को मारेको छ गीत–सङ्गीतले । त्यसैले, गीतमा राम्रो कथावस्तु, राम्रा राम्रा निर्देशक, नृत्य–दक्षता भएका नृत्य निर्देशक, अनुभवी र राम्रो कलाकारहरू, मेकअप–मेन, अनुभवी र राम्रो क्यामरामेन, उनीहरूलाई लाग्ने व्यवस्थापन, राम्रो लोकेसन र राम्रो र व्यवस्थित इडिटिङ र कलरिङ, यातायातको व्यवस्थापन, खाना नास्ताको व्यवस्थापन आदि सबै कार्य पूरा भएपछि मात्र एउटा गीतको भिडियो दर्शक श्रोतासामु यु–ट्युवमार्फत पुग्ने गर्दछ । यो प्रक्रियासम्म आइपुग्दा दर्जनौँ विज्ञताहरूको विवेक प्रयोग भइसकेको हुन्छ र त्यहीअनुसारको लगानी गइसकेको हुन्छ ।

फेरि गीतका शब्दहरू कपी गर्ने, सङ्गीतहरू कपी गर्ने, भिडियो मेकिङका कामहरूको कपी गर्ने कामचोर मान्छेहरूको कमी छैन नेपालमा । शब्दहरू मिलेन, लौ मिलेन ! शब्दहरू मिल्यो, लौ मिल्यो, किन मिल्यो ! सङ्गीत मिल्यो, सङ्गीत चोरेछ, क्षमता भए पो आफ्नो भाका बनाउँछ त ? सङ्गीतहरू मिहिनेतपूर्वक नमिल्ने बनायो, ए खोई मिलेन, खोई मौलिकता ? अरुको सङ्गीत चोरे आफु सङ्गीतकार बन्ने प्रवृति भनेको लम्पट र कामचोर तरिका हो, यसलाई सिघा खारेज जर्नु पर्दछ । फेरी हाम्रो देशमा पर्खिन सक्ने, सुन्न सक्ने, मूल्याङ्कन गर्न सक्ने, बुझ्न सक्ने र बुझाउन सक्ने, सही समीक्षा, आलोचना, टिप्पणी, सुझाव दिन सक्ने र गर्न सक्ने मान्छेहरूको कमी छ र गाली गर्ने मान्छेहरूको जमात धेरै छ म्युजिक बजारमा । अझ मत भन्छु गीत सङ्गीतको सहि समिक्षा गर्ने र त्यो सम्वन्धि कलम चलाउने मान्छेहरुको निकै कमि छ वा छदैछैन भनेपनि हुन्छ । रक्तिम परिवारको ‘दाइ हाम्रो घर त ताराखोला हो’ भन्ने जीवन शर्माजी को गीतको हुबहु भाका शम्भु राईले प्रकाशन गरेको तिहारको गीतमा मिल्न गयो, त्यसपछि त्यही शम्भु राईको तिहारको गीतको भाका प्रकाश सपुतको गलबन्दी च्यतियो भन्ने गीतमा मिल्न गयो, प्रकाश सपुत र शम्भु राईका बिच निकै ठूलो विवाद भयो । त्यो कुरा बाहिरै मिडियामा आयो, कैयौ विवाद र छलफलहरु भयो । र अत्त्यमा प्रकाश सपुतको गीत गलवन्दी च्यातियोमा सङ्गीत शंभु राई लेखाउन बाध्य पारे । यस्ता यस्ता अनेकौँ प्रकारका उदाहरण र कैयौँ घटना–परिघटना छन्, म्युजिक बजारमा । अहिले त झन् सबै क्षेत्रमा कपिराइटको मुद्दा उठेको छ ।

फेसबुकका वालहरूमा कमेन्ट, सुझाव र टिप्पणी लेखेर पोस्ट गरेजस्तो सजिलो काम रहेनछ, गीत–सङ्गीतको काम । एउटा ह्वाइट–पेपरमा सिसाकलमले गद्य कविता वा गजल लेखेर १० रूपैयाँको लगानीमा फेसबुकमा फोटो खिँचेर पोस्ट गरेजस्तो पनि होइन, यो काम । एकाएक सामाजिक सञ्जालमा भाइरल हुने भेलुबाजेको ‘मा टोक्ने’ जस्ता वाक्य पनि त कहाँ हो र गीत–सङ्गीत । गीत–सङ्गीतको कार्यमा अडिरहन धेरै साधना चाहिन्छ, निरन्तरको पहल र प्रयत्नको खाँचो पर्दछ र लगानी पनि । त्यसमा पनि अझ जनवादी गीत–सङ्गीतमा लाग्ने भनेको झनै सजिलो कार्य रहेनछ । यदि त्यसो हो भने सबैले गर्थे होला, यो काम । अस्ति काठमाण्डौको एक कार्यक्रममा प्रा.डा. युवराज सङ्ग्रौलाले भनेका थिए, “राजनीतिक पार्टीका सबै नेता प्राध्यापक र डाक्टर बन्न सक्दैनन् तर सबै प्राध्यापक र डाक्टरहरू चाहे भने राजनीतिक पार्टीका नेता बन्न सक्छन् ।” प्रा.डा. युवराज सङ्ग्रौलाले भनेजस्तै चाहना राख्दा सबै गीतकार र सङ्गीतकार पार्टीका नेता बन्न सक्छन् तर सबै नेता चाहना राखेर पनि गीतकार र सङ्गीतकार बन्न सक्दैनन् भन्ने लाग्दछ मलाई पनि । ६२ प्रतिशत कम्युनिस्टहरू भएको भन्ने देशमा जनवादी सङ्गीतकारको सङ्ख्या औँलामा गन्न सकिने खालको छ, किन होला ? जनवादी गीत–सङ्गीतका उत्पादन र प्रकाशन सुषुप्त बन्ने कारण के होला ? सुन्दर र राम्रा राम्रा जनवादी सिर्जनाहरू प्रकाशन हुन नसक्नुको कारण के होला ? किन जनवादी कलाकारहरु एकाएक पलायन हुनछन होला ? उनिहरुको रक्षा, रुपान्तरण, विकाश र उनिहरुलाई आन्दोलनमा टिकाईराख्नको लागि सम्वन्धित राज्यसत्ता वा पार्टीहरुको दायीत्व भित्र पर्छ कि पर्दैन ? कि चाहिदाँको भाडो, नचाहिदाँको ठाडो भन्ने उखानको चरित्रार्थ बोकिरहने हो ? जनवादी गीत–सङ्गीतका स्रोता घटेका छैनन्, बाटो घाटो भेटिनुहुन्छ, सामाजिक सञ्जालमा कुराकानी हुन्छ, सुझाव, आलोचना र प्रोत्साहन आउँछन् । निकै खुसी लाग्छ मलाई र हौसिन मन लाग्छ, जनवादी प्रगतिशील गीत–सङ्गीत सिर्जना गर्न । यो कार्यमा कसैले गर भनेर वा नगर भनेर वा कसौलाई खुसी पार्न वा बेखुसी पार्न वा कसैलाई दलाली गर्न वा तावेदारी गर्न लागेको होइन हामी ।

सबैले आ–आफ्नो क्षमताले पुगेसम्म, आफ्नो स्थानबाट जनवाद, समाजवाद र साम्यवादको लागि चल्ने आन्दोलनमा आफूले योगदान पु¥याउने उद्देश्यसहित यो कार्यमा लागिपरेका हौँ । यो कार्यलाई मेरो कर्तव्य र दायित्व दुवै हो भन्ने लाग्छ किनकि समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ, वर्गसङ्घर्ष रहेसम्म जनवादी गीत–सङ्गीतको अर्थ र महत्व दुवै छ भन्ने मान्यतालाई आत्मसात् गरेर म आफू पनि यो कार्यमा लागिरहेको हुँ । ‘सक्छौ– छोड, तिलाञ्जली देऊ, तिरस्कार गर साम्राज्यवादी संस्कृतिलाई, सक्दैनौ वकालत गर्दै नहिँड वा हिमायती नबन वा त्यो पनि सक्दैनौ कम गर’ भन्ने मान्यतालाई आत्मसात् गर्दै, भेट हुने जति सबै जनवादी सर्जकहरूलाई यही कुराको सुझाव दिने र लिने गरेको छु । गीत लेख्नु, सङ्गीत गर्नु र प्रकाशन गर्नु, केही न केही नयाँ सिर्जना गरौँ भनेर हुटहुटी लगाइरहन्छु नयाँ र पुरानो पुस्ताका अग्रज जनवादी सर्जकहरूलाई पनि । अझ भनौ म आफु आवद्ध भएका सवै नेताहरुलाई पनि गीत लेख्न बारम्वार सुझाव दिईरहन्छु मैले । किनकि, आजको साम्राज्यवादी सांस्कृतिक हमलाको प्रतिकार एकताबद्ध बनेर मात्र सम्भव रहन्छ । सबै प्रतिभाहरू आ–आफ्नै किसिमले मौलाउन सक्नुपर्दछ । कसले दिने हो त्यो वातावरण ? यसको खोजी गर्न आवश्यक छ, नेपालमा । त्यसैको पहल स्वरूप ‘राष्ट्रको लागि सङ्गीत अभियात्रा’ देशभर सञ्चालन गरिएको हो, सबै जनवादी सर्जकहरू मिलेर ।

अवस्था होइन, व्यवस्था बदलौँ र हेपिएका चेली :
पहिलो कुरा तीज पर्व आफैँ पनि हिन्दु महिलाहरूले मान्ने चाड हो । यो पर्व महिलाहरूले निश्चित मान्यतामा आधारित भएर मनाउने गरिदै आएको हो । यसमा कैयौ बिकृतिहरु भित्रीएका छन, जो हेरी साध्य र सुनिसाध्य छैन । यही तीजको सन्दर्भमा म आफू पनि संलग्न भएर ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ गीत सार्वजनिक गरिएको छ । हाम्रा परिवारहरू साम्राज्यवादी पाश्च्यात्य संस्कृतिमा आधारित अश्लील गीतहरूमा उर्फनुभन्दा त राष्ट्र र जनतालाई दिशाबोध गर्ने खालको शब्दहरू भएको गीतमा नाच्नु राम्रो होला कि ! दलाल पुँजीवादी, सामन्तवादी संस्कृतिमा आधारित गीतहरूमा फन्को मार्नुभन्दा त आफ्ना हकअधिकारमा आधारित गीतमा टिकटक बनाउनु राम्रो होला कि ! नाच्ने हो, जाडपान, गाँजाभाङ खाने हो, शिवलिङ्ग पुग्ने हो, मन्दिरमा गएर घुम्ने हो, डिस्कोमा गएर हुस्कीको चुस्की लिने हो भन्नेजस्ता गीतमा छोरीहरूलाई नाच सिकाउनुभन्दा त असमानताको विरुद्ध समानताको गीतमा नचाउनु राम्रो होला कि ! महँगा–महँगा गहना, राम्रो राम्रो साडी, शृङ्गारका वस्तुले सजिएको अनुहार, घरगाडीका उपहार, अलौकिक, रुढिवादतर्फ समाजलाई धकेल्नुभन्दा त ‘उठ चेली हो अधिकार लिनलाई जुट चेली हो’ भन्नेजस्ता गीतमा प्रोत्साहन गर्दा राम्रो होला कि भन्ने लागेर यी गीतहरू सिर्जना गरिएका हुन् ।

कैयौँ आफूलाई कम्युनिस्ट भन्ने पार्टीका महिला सङ्गठनहरूले तीजको सन्दर्भमा कार्यक्रम आयोजना गरेर अश्लील गीतहरूमा उफ्री–उफ्री नाचेको पनि त हामीले देखेकै छौँ । परिवारका सबै सदस्यहरू बसेर हेर्न र सुन्न नमिल्ने खालका तीजका गीतहरू पनि त बनेका छन् । कैयौ अस्लिल गीतहरुमा खुशीहुदै टिकटक पनि त बनाएकै छौ । अझ भनौ आफुलाई कम्युनिस्ट भन्ने मान्छेहरुकै फेसवुक, टिकटक वालहरु हेरौ त, कस्ता छन् ? त्यसैले नहुनुभन्दा यतिसम्म भए पनि हुनु राम्रो कदम हो भन्ने मान्यताले यी गीतहरू बनाइएको हो । फेरि माया, प्रेम र अश्लीलतामा आधारित भएर मात्र गीत बन्नुपर्छ भन्ने कहाँ छ र ? गीतको कच्चा पदार्थ माया, प्रेम र अश्लीलता मात्र हुन्छन् भन्ने कहाँ छ र ?

त्यसैले, आज हावी भएका वा गरिएका साम्राज्यवादी बुर्जुवा प्रकारको गीत–सङ्गीत समाजकै लागि निकै खतरनाक र हानिकारक छ । उनीहरू निश्चित बुर्जुवा साम्राज्यवादी मिसनमा हुन्छन् । जनवादी, प्रगतिशील गीत–सङ्गीतलाई स्तरीय मान्दैनन्, पार्टीको गीत भन्छन्, नारा गीत भन्छन्, आन्दोलन, क्रान्ति र विद्रोहको गीत भन्छन् र पन्छाइदिन्छन् । आफूहरूले गीत–सङ्गीतको मुख्य सहरा चरम अश्लीलतालाई बनाउँछन् । छाडापनलाई आत्मसात् गर्न उद्वेलित हुन्छन् । खुल्ला सेक्स र चरम उपभोगवादी दृष्टिकोणमा परिलक्षित हुन्छन् र बनाउँछन् । अधिनायकवादी र शोषणको पक्षधर हुन्छन् र बनाउँछन् । दलाल पुँजीवादी, सामन्तवादी र उपभोक्तावादी सांस्कृतिक प्रवृत्तिलाई मलजल गर्दछन् र गर्न लगाउँछन् । त्यसैले यो र यस्ता प्रवृत्तिको विरुद्ध आवाज उठाउनु आजको आवश्यकता हो । यस्ता विकृत संस्कृतिविरुद्ध निरन्तर धावा बोल्नु अनिवार्य छ ।

बुटवलमा बस्ने क्षितिजा राहादी मगर, रितु पुन र शुष्मा सर्तुङ्गी गौतम र काठमाण्डौमा बस्ने मेस्मा पुनको अनुरोधमा यो गीतलाई छोटो समयमा तयार गरिएको हो । छोटो समयका बिचमा पनि यो गीतसँग सम्बन्धित एरेन्जर, कोरस भोकलमा सहयोग गर्ने बैनीहरू, दक्ष वाद्यवादक, रेकर्डिस्ट, साउन्ड टेक्निसियन र इन्जिनियरहरू, स्टुडियो, निर्देशक, नृत्यनिर्देशक, नृत्यकारहरू, कलाकारहरू, क्यामरामेन, लाइटमेन, मेकअपमेन, यातायात व्यवस्थापक, मेस व्यवस्थापक, भिडियो सम्पादक, सहयोग गर्ने सहयोगी मनहरू, गीत र भिडियो राम्रो बनोस् भन्ने शुभचिन्तकहरू, आर्थिक व्यवस्थापन र समायोजन, लोकेसन उपलब्ध गराउने मेरीगोल्ड होटल, बुटवल, अक्सफोर्ड स्कुल, नयाँबजारलगायत सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

म आफूलाई दुईवटै गीतको शब्द र सङ्गीत गर्ने अवसर प्राप्त भयो । दुईओटै गीतका शब्दहरू सरल र जनआधारित बनोस् भन्ने कोसिस गरेको छु र विषयका हिसाबले आजको देशको राजनीतिलाई राम्रोसँग आत्मसात् गरोस् भनेर मिहिनेत गरेको छु । दुवै गीतको सङ्गीतमा परम्परागतभन्दा केही फरकपन गर्नु र दिन सकूँ भनेर कोसिस गरेको हुँ त्यो हरेक सङ्गीतकारको मनमा हुने कुरा हो, आफ्नो काममा नयाँ र आफ्नै पन दिन सकुँ । फेरि पुराना गीतहरूको सङ्गीत कपी गर्नु भनेको सङ्गीतकारको नैतिक प्रश्न पनि हो । गायिकाहरूसँग साङ्गीतिक परिचय नभएका कारणले गर्दा कस्तो भोकल हो, कति रेन्जको भोकल हो, गायकीमा कति प्राक्टिस छ आदिको अनभिज्ञताले गर्दा मलाई केही असजिलो महसुस भएकै थियो । किनकि गीतहरूमा सङ्गीतकारको बाटोमा निर्धक्क गायक, गायिकाहरूलाई हिँडाउनुभन्दा पनि गायक, गायिकाको आवाजको अवस्थाअनुसार सङ्गीतकारले गीतहरूमा सङ्गीत बनाइदिनु आज सङ्गीतकारहरूको बाध्यता हो ।

जहाँसम्म गायनको कुरा छ, यो निकै मुस्किल काम हो । कैयौँ नाम चलेका गायक–गायिकाहरूले पनि स्टुडियोमा गाउन नसकेर कैयौँपटक स्टुडियोको रेकर्डिङ डेट नै क्यान्सिल गरेको उदाहरण मेरैसामु छ । दुवैजना गायिका बैनीहरू कमरेड रीता पुन र कमरेड मेस्मा पुनले निकै मिहिनेत गरेर गाउने कोसिस गर्नुभयो, तपाईंहरू दुवैलाई धेरै–धेरै धन्यवाद छ । यसको मतलव हामीले गीत–सङ्गीतमा र गायकीमा मिहिनेत गर्नुपर्दैन भन्न खोजेको होइन । कैयौँ मिहिनेतको आवश्यकता छ । मात्रै कुरा के हो भने अरूको कुरा काटेर दिन गुजार्ने आजको समाजमा हिँड्ने कोसिस गर्नुभयो र हिँडेर देखाउनुभयो । यो ठूलो कुरा हो ।

कैयौँ कठिनाइलाई चुनौती दिँदै, सङ्कीर्णता र जडताको विरुद्ध एक झापट दिनुभएको छ, तपाईंहरूले । पुँजीवादी, सामन्तवादी प्रवृत्तिविरुद्ध औँला ठडाउनुभएको छ तपाईंहरूले । आफूले सिन्को पनि नभाँच्ने र माखा पनि नमार्ने तर अरूको आङमा जुम्रा देखे पनि भैँसी भन्ने प्रवृत्ति आन्दोलनमा पुरानै हो । विभिन्न एनजीओ र आईएनजीओवादी, साम्राज्यवादी, दलाल पुँजीवादी दृष्टिकोणलाई ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ गीतमार्फत चुनौतीपूर्ण जवाफ दिनुभएको छ तपार्ईंहरूले । यसका अरू कैयौँ पक्षमा बहस गर्दै जाऔँला । गीतका शब्द र सङ्गीत अरू कसैले गरेको हुन्थ्यो भने पनि मैले बिना–हिचकिचाहट धन्यवाद दिन्थेँ । यो गीतमार्फत हामी जनवादी सर्जकहरूले एकार्कामा सहकार्य गर्नुपर्दछ भन्ने संस्कृतिलाई बढवा दिएको छ । यसले सहकार्य, एकता, धु्रवीकरणका पर्दाहरू उघारिदिएको छ । हामीबिच एकअर्कामा भएका क्षमतालाई साझा आन्दोलनमा र हामी सबैको साझा दुश्मनहरूको विरुद्ध परिलक्षित गर्न सहकार्यको आवश्यकता छ भन्ने मान्यतालाई प्रोत्साहन गरेको छ । छोटो समयमा मीठो साङ्गीतिक सहकार्य भयो, फेरि पनि तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूको जनवादी, प्रगतिशील सांस्कृतिक आन्दोलन र गीत–सङ्गीतको आगामी दिन र बाटाहरू सुखद् र प्रगति–उन्मुख बनून् भन्ने अपेक्षा राख्दछु ।

१९ भदौ, २०८० ।

प्रतिक्रियाहरु