महिला विश्वकप फुटबल :नेदरल्याण्ड्स, अमेरिका, इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा प्रवेश

२०८० श्रावण १७ गते, बुधबार


काठमाडौँ । महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स, अमेरिका, इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । साविक विजेता अमेरिकाले मंगलबार पोर्चुगलसँग गोलरहित बराबरी खेल्दा नेदरल्याण्ड्सले भियतनामलाई ७–० ले पराजित गर्‍यो । यो समुहमा तिन खेलबाट नेदरल्याण्ड्स ७ अंकसहित समुह विजेता बन्यो भने अमेरिका ५ अंकसहित दोस्रो भयो । ४ अंक जोडेको पोर्चुगल र अंकबिहिन भियतनाम बाहिरिए । उता समुह डि मा चिनलाई ६–१ ले हराउँदै इंग्ल्याण्ड समुह विजेता बन्दा हेइटीमाथि २–० को जित निकालेको डेनमार्क दोस्रो हुँदै राउण्ड अफ सिक्सटिनमा पुग्यो ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा बुधबार पनि चार खेल हुनेछन् । समुह एफ का खेलहरुमा ब्राजिल र जमैका भिड्दा फ्रान्सले पानामासँग खेल्नेछ । यो समुहमा दुई खेलबाट फ्रान्स र जमैकाको ४–४ अंक छ । ब्राजिलको ३ अंक छ भने पानामा अंकबिहिन छ । बुधबार नै समुह जि का खेलहरुमा अर्जेन्टिना र स्विडेन तथा दक्षिण अफ्रिका र इटाली भिड्नेछन् । यो समुहमा २ खेलबाट ६ अंक जोडेको स्विडेन नक आउट चरणमा पुगिसकेको छ । इटालीको ३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिनाको १–१ अंक छ ।

प्रतिक्रियाहरु