समाजवादी मोर्चालाई सार्थक बनाऔं

२०८० असार १० गते, आईतवार

१० वर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनको उपलब्धिलाई नामेट पार्न देशी– विदेशी प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले देशको वर्तमान राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा गठन गरेका छन् । संसदीय व्यवस्थाका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका नै संकटग्रस्त बन्दै गइरहेको समयमा देशका क्रान्तिकारी र अग्रगामी राजनीतिक दल त्यसको समाधानतर्फ एकजुट भएर अगाडि बढ्नु निश्चय नै प्रशंसनीय कार्य हो ।

यतिबेला देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ भने भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावाद र दलगत स्वार्थले सीमा नाघेको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन् । संवैधानिक अंगहरुले स्वतन्त्र रुपले कार्य गर्न पाएका छैनन् । वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता भएको छ भने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) जस्तो राष्ट्रघाती सम्झौता गर्न विभिन्न प्रपन्च गरिँदैछ । जता हे¥यो त्यतै भद्रगोलको स्थिति छ । यी सबै तथ्यले देशमा संघीय व्यवस्था असफल भइसकेको प्रमाणित भएको छ । यस्तो अवस्थाबाट देश र जनतालाई मुक्त पार्ने लक्ष्यका साथ क्रान्तिकारी र प्रगतिशील राजनीतिक दलहरुबीच समाजवादी मोर्चा गठन हुनु निश्चय नै खुशीको विषय हो ।

नेपालको संविधान नै समाजवादोन्मुख भएकोले नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले गठन गरेको समाजवादी मोर्चामा आफ्नो दलको लक्ष्य देशमा समाजवाद स्थापना गर्ने रहेका तमाम राजनीतिक दल सामेल हुनै पर्छ र त्यही मोर्चाको बलमा देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प छैन भने समाजवादी मोर्चामार्फत् समाजवाद स्थापना गर्ने राजनीतिक दलको लक्ष्यलाई पुरा गर्न आमसचेत नागरिकसमेत कटिबद्ध र प्रतिबद्ध हुनुको विकल्प छैन । किनकि संसदीय व्यवस्था विघटन गरेर वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देश र जनताको मुक्ति सम्भव छैन । फेरि पनि देश र जनहितको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने संसदीय व्यवस्थाको गोलचक्करमा फस्ने हो भने देश र जनताको भविष्य चौपट हुने निश्चित छ । तसर्थ, आमक्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी दल, नेता र सचेत नागरिकहरु समाजवादी मोर्चामा सामेल हुनैपर्छ र यही मोर्चाको बलबाट संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्छ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु