समाजवादी मोर्चा आजको आवश्यकता

२०८० असार ३ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका दलहरु मिलेर समाजवादी मोर्चा बन्न लागेको छ । संसदीय व्यवस्थाका कारण राष्ट्र र राष्ट्रियता नै संकटमा पर्दै गइरहेको समयमा समाजवादी मोर्चामार्फत् राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षार्थ समाजवादतर्फ अग्रसर हुनु आफैँमा प्रसंशनीय कार्य हो । यतिबेला देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावाद र दलगत स्वार्थले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । सरकार अनिर्णयको बन्दी बनेको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन् । संवैधानिक अंगहरुले स्वतन्त्र रुपले कार्य गर्न पाएका छैनन् । बैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता भएको छ भने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) जस्तो राष्ट्रघाती सम्झौता गर्न बिभिन्न प्रपन्च गरिँदैछ । जता हे¥यो त्यतै भद्रगोलको स्थिति छ । यस्तो अवस्थावाट देश र जनतालाई मुक्त पार्ने हेतुले देशका प्रमुख क्रान्तिकारी र प्रगतिशील राजनीतिक दलहरु समाजवादी मोर्चामार्फत् देश र जनताको संकट समाधानको लागि एकजुट हुनु निश्चय नै खुशीको बिषय हो ।

नेपालको संबिधान नै समाजवादोन्मुख भएको र आफ्नो दलको लक्ष देशमा समाजवाद स्थापना गर्ने रहेका तमाम राजनीतिक दल यस समाजवादी मोर्चामा सामेल हुनु पर्छ र त्यही मोर्चाको बलमा देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प छैन । समाजवादी मोर्चामार्फत् समाजवाद स्थापना गर्ने राजनीतिक दलको लक्षलाई पुरा गर्न आमसचेत नागरिकसमेत कटिबद्ध र प्रतिबद्ध हुनुको विकल्प छैन । किनकि संसदीय व्यवस्था विघटन गरेर वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देश र जनताको मुक्ति सम्भव छैन । फेरि पनि देश र जनहितको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने संसदीय व्यवस्थाको गोलचक्करमा फस्ने हो भने देश र जनताको भविष्य चौपट हुने निश्चित छ । तसर्थ, आमक्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी दल, नेता, शक्ति र सचेत नागरिकहरु समाजवादी मोर्चामा सामेल हुनैपर्छ । त्यही मोर्चाको बलबाट मात्र संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सम्भव छ । अन्यथा, देश र जनताका साथै क्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी राजनीतिक दल र नेताहरुको भविष्यसमेत अन्धकार हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु