नेपाल कम्युनिस्ट पार्टीको प्रशंसनीय पहल

२०८० बैशाख १० गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर देशब्यापीरुपमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सो पार्टीले वैशाख ४ गते देशव्यापीरुपमा क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान र अभिनन्दन गरेको छ भने वैशाख ९ गते विभिन्न कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई एउटै मन्चमा ल्याएर काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेको छ । देशमा लगभग ७५ प्रतिशत जनमत कम्युनिस्टको पक्षमा हुँदाहुँदै कम्युनिस्ट पार्टी र नेताहरुको आपसी स्वार्थ र खिचातानीले देशमा असली कम्युनिस्ट अर्थात् जनताको सरकार बन्न सकेको छैन । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान र अभिनन्दन गर्नु र विभिन्न कित्तामा खण्डित भएका कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई एउटै मन्चमा उभ्याएर देश र जनताप्रतिको उत्तरदायित्व बोध गराउनु आफैँमा ऐतिहासिक कार्य हो भने देश र जनताको लागि ज्यादै खुशीको विषय हो ।

यतिबेला संसद्वादी दलको भागवण्डाको राजनीतिले देश र जनताको अस्तित्व संकटमा परेको छ । राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । किसानले खेती गर्न समयमा मल र बीउ, पीडितले अदालतबाट उचित न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ अर्थात् जता हे¥यो उतै भद्रगोलको स्थिति छ । महँगी, कालोबजारी, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता भएको छ भने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपीपी) जस्तो राष्ट्रघाती सम्झौता गर्न विभिन्न प्रपन्च गरिँदैछ । तर, यस विषयमा सरकार, सत्ताधारी र संसद्वादी राजनीतिक दल र नेताहरुलाई कुनै चिन्ता र चासो रहेको देखिँदैन । उनीहरु त देश र जनताको विषयमा भन्दा कसरी आफ्नो लुटको स्वर्ग कायम राख्ने भनेर दत्तचित्त भएर लागेका छन् । जुन ज्यादै घृणित र निन्दनीय कार्य हो । संसद्वादी राजनीतिक दल र नेताको यस किसिमको हर्कतबाट वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्ने पुष्टि हुन्छ ।

यसैबीच, पछिल्लो समय दश बर्षे जनयुद्धको उपलब्धिलाई नामेट पार्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रलाई निस्तेज पार्न र देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न बिगतदेखि नै संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा नेपालका तमाम क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील र सच्चा लोकतन्त्रवादीहरुलाई समट्ने जुन कार्यको सुरुवात भएको छ, यो आफैँँमा स्वागतयोग्य र प्रशंसनिय कार्य हो । देशको बिग्रदो स्थितिलाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको यस अभियानलाई देशका तमाम क्रान्तिकारी, प्रगतिशील र सच्चा लोकतन्त्रवादी राजनीतिक दल, नेता र आमस्वाभिमानी जनताले साथ र सहयोग गर्दै सफल पार्नै पर्छ । अन्यथा देश देशी–बिदेशी दलालहरुको खेल मैदान बन्ने निश्चित छ । तसर्थ, देश जनताको लागि नेपाल कम्युनिस्ट पार्टीको यस अभियानलाई पूर्णता दिँदै स्वाधीन राष्ट्र र सार्वभौम नेपाली बन्नबाट नचुकौँ । आजको आवश्यकता, समयको माग र आमनेपालीको चाहना पनि यही छ ।

प्रतिक्रियाहरु