‘सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे’

२०७९ मंसिर १३ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् । महासचिव विप्लवले आम निर्वाचनको विषयमा मंगलबार एक भिडियो वक्तव्य दिंदै सो कुरा बताएका हुन् । उनले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेकोठोकुवा गरेका छन् । ‘हामी कम्युनिष्टहरु एक हुन जरुरी छ । झापा विद्रोहदेखि जनयुद्धबाट यहाँसम्म आइपुग्न क्रान्ति र परिवर्तनको पक्षमा लडेका सबै कम्युनिष्ट समर्थकहरु एक हुनुपर्छ’, उनले भनेका छन्, ‘हामीले कमिकमजोरी सच्चाउने वेला आएको छ । हामी भ्रमित हुँदा देशले ठूलो क्षति व्यहोरेको छ । यही संसदीय प्रणालीमार्फत् संसदबाट सरकार बनाएर केही गर्न सकिन्छ कि भन्ने भ्रामक चेत बोक्नुको कारण हामीले पछुताउनुपर्ने स्थिति आउँछ ।’
महासचिव विप्लवले भने – ‘दलाल पूँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको छ। जनयुद्धको सफलतालाई षड्यन्त्रपूर्वक रोकिएको छ । कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न बिसर्जित गर्ने र देशमाथि अमेरिकी र भारतीय साम्राज्यवादको नवउपनिवेश खडा गर्ने, नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ ,आज त्यही खेल सुरु भएको छ । अनेकौं बहानामा देशभक्त शक्तिलाई छिन्नभिन्न पार्ने षड्यन्त्र भइरहेको छ ।’
महासचिव विप्लवले कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उल्लेख गर्दै भने – ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ ।’
महासचिव विप्लवले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गर्दै संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको ठोकुवा गरे । उनले नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षड्यन्त्र मात्रै भएको बताए ।
महासचिव विप्लवले भने – ‘ ‘चाहे नयाँ अनुहारमा हुन् या चाहे पुरानै अनुहारका हुन् । जुनसुकै अनुहारले सरकार चलाए पनि मुलुक समृद्ध बन्ने अवस्था छैन । जुनसुकै तत्वले सरकार चलाए पनि नेपाली श्रमिकको लागि कुनै अर्थ हुँदैन । आखिर विष विष नै हुन्छ । विषले कहिल्यै पनि अमृतको काम गर्न सक्दैन ।’
महासचिव विप्लवले सबै क्रान्तिकारी शक्तिहरुलाई नेपाललाई वैज्ञानिक समाजवादमा लैजान पहल गर्न आह्वान गर्दै नेपाललाई दलाल पूँजीवादबाट मुक्त गराउनेतर्फ लाग्न पनि आग्रहसमेत गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु