१३०० वर्ष पुरानो जहाजको भग्नावशेष भेटियो !

२०७९ आश्विन १० गते, सोमबार


काठमाडौं । समुद्री अन्वेषकहरूले हजारौँ वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन् । यो भग्नावशेष इजरायलको तट नजिकै फेला परेको हो । जहाजको भग्नावशेषलाई बालुवाले ढाकिएको थियो । खोजकर्ताहरुका अनुसार जहाजमा रहेको भग्नावशेष करिब १३ सय वर्ष पुरानो हो । जसकारण कैयौं ऐतिहासिक दाबीहरू फेरबदल हुन सक्छन् । इजरायलको तटीय समुदाय मगन माइकल नजिकै भेटिएको जहाजको भग्नावशेषमा २०० पूर्ण संरक्षित प्राचीन भाँडाहरू पनि फेला परेको सञ्चारमाध्यमहरूले जनाएका छन् । जसमा १३०० वर्ष पुरानो सामानसँगै भूमध्यसागरीय क्षेत्रको खानेकुरा पनि फेला परेको छ । जस्तै माछाको अचार, धेरै प्रकारका जैतून, खजूर र अन्जीर फेला पारिएको हो । भग्नावशेषमा डोरी, केही व्यक्तिगत सामान र जनावरको अवशेष पनि फेला परेको छ ।
अन्वेषकहरूका अनुसार यस जहाजमा रहेको भूमध्य क्षेत्रको भग्नावशेषले ७ औं शताब्दीमा इस्लामिक साम्राज्य स्थापना भएपछि पश्चिमी देशहरूबाट व्यापार गर्न यहाँ आउने गरेको प्रमाण देखाउँछ । जहाज नजिकै भेटिएका कलाकृतिहरूका आधारमा यो जहाज इजिप्टको साइप्रसबाट यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो जहाज टर्कीबाट पनि आएको हुन सक्छ ।
यद्यपी जहाज डुब्नुको कारण भने खुल्न सकेको छैन । रिपोर्टमा भनिए अनुसार यो जहाज त्यस समयको हो, जब इस्लामिक शासकहरूको यी क्षेत्रहरूमा बलियो पकड थियो, क्रिश्चियन बाइजेन्टाइन साम्राज्य यी क्षेत्रहरूबाट लोप हुँदै गइरहेको थियो ।
इजरायली तट धेरै शताब्दीदेखि डुबेका जहाजहरूको भग्नावशेषले भरिएको बताइएको छ । यी भग्नावशेषबारे जानकारी सङ्कलन गर्न सजिलो छ । किनभने यी इजरायली समुद्र तटहरूमा पानीको स्तर कम छ, बलौटे सतहको कारण, कलाकृतिहरू सुरक्षित छन् । यो जहाज सातौं वा आठौं शताब्दीको हुने सामुद्रिक पुरातत्वविद् देवरा सिविकेलले सञ्चारमाध्यमलाई बताए । यो धार्मिक विभाजनपछि पनि भूमध्यसागरीय क्षेत्रमा व्यापार चलिरहेको थियो भन्ने प्रमाण हो । देवराले थप भने, ‘इतिहासका पुस्तकहरूले इस्लामिक साम्राज्यको विस्तारपछि यी क्षेत्रहरूमा अन्तर्राष्ट्रिय व्यापार बन्द भएको बताउँछ, तर अहिले त्यस्तो भएको देखिँदैन ।’
देवराले यो जहाजको लम्बाइ २५ मिटर हुने अनुमान गरेका छन् । भग्नावशेषको अनुसन्धान जारी छ । तर, यसअघि पनि यसक्षेत्रमा धेरै जहाजका भग्नावशेष भेटिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु