मेडिकल माफियालाई तह लगाउ

२०७८ माघ ९ गते, आईतवार

यतिबेला नोबेल र काठमाडौँं मेडिकल कलेजले बिद्यार्थीमाथि गरेको ज्यादतिविरुद्ध प्राय सबै विद्यार्थी संगठन संघर्षमा उत्रिएका छन । नोबेल र काठमाडौँं मेडिकल कलेजलेBBS, BDS र BNS का बिद्यार्थीवाट लाखौँ रुपैयाँ अनियमित ढंगले असुलेको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गर्दा समेत कारबाही भएको छैन । यसरी राज्यको कानुनको खिल्ली उडाउँदै बिद्यार्थीबाट लाखौँ रुपैयाँ असुल्ने नोबेल र काठमाडौँं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मालाई सरकारले कारबाही गर्न नसक्नु वा नगर्नु लाजमर्दो, हास्यास्पद र निन्दनीय विषय हो । सरकारको यही लाजमर्दो, हास्यास्पद र लाचारीपनबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठन संघर्षमा उत्रिएका छन् । ती विद्यार्थी संगठनले मेडिकल माफिया सुनिल शर्मालाई तत्काल कारबाही गर्न सरकारसँग पटक–पटक आग्रह गरिसकेका र गरिरहेका छन् तर सरकार र सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । सरकारले विद्यार्थीको आग्रहलाई नजरअन्दाज गरेपछि संघर्षरत विद्यार्थीले नोबेल र काठमाडौँं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई शिक्षा मन्त्रालय परिसरमै कालोमोसोसमेत् दलेका छन् । विद्यार्थीले यति गर्दा समेत न सुनिल शर्मा सच्चिएका छन् न सरकारले नै उनलाई कानुनको दायारामा ल्याउन सकेको छ ।

यसैक्रमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित सात विद्यार्थी सङ्गठनले शुक्रबार शिक्षा देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणलाई एकै स्थानामा भेटेर काठमाडौँ मेडिकल कलेज र नोवेल मेडिकल कलेजलाई कारबाही गर्न र पठनपाठन सहज बनाउन संयुक्तरुपमा आग्रह गरेका छन । सात विद्यार्थी सङ्गठनको उक्त आग्रहलाई दुवै मन्त्रीले सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएको समाचार सार्वजनिक भएको छ । जुन सकारात्मक विषय हो । तसर्थ, सात विद्यार्थी सङ्गठनको यो आग्रहलाई सरकार र सम्बन्धित निकायले गम्भीरतापूर्वक लिन आवश्यक छ, अन्यथा विद्यार्थी आन्दोलनको यो झिल्कोले मेडिकल माफिया सुनिल शर्मा मात्र होइन, मेडिकल माफियालाई काँध थाम्ने सरकारलाई समेत खरानी बनाउने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु