राष्ट्रिय थारू मुक्ति मोर्चा रूपन्देहीको अध्यक्षमा जसवन्त थारु

२०७८ आश्विन ३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल रूपन्देहीको प्रथम भेलाले जसवन्त थारुको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष प्रेम थारु, सचिव रामु थारु, सह–सचिव हरिराम थारु, कोषाध्यक्ष श्याम थारु, सदस्यहरू देवनारायण थारु, बिजय थारु, विनोद थारुलगायत रहेका छन् । उक्त भेलालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सङ्घप्रसाद थारुले नेपाल विविधताको मुलुक भएको भन्दै थारु समुदायमाथि राज्यसत्ताले लामो समयदेखि उत्पीडन गर्दै आएको बताए । उनले थारु समुदायको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र नेपालको जातीय उत्पीडन अन्त्य गर्ने बताए । अध्यक्ष थारुले नेकपाले अहिले प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यनीति बनाएको बताए । उनले राष्ट्रिय स्वाधीनताका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने समेत बताए । यस्तै नेकपा जिल्ला सेक्रेटरी विश्वासले दलाल राज्यसत्ताका विरुद्ध थारु समुदायले शसक्त सङ्घर्ष गर्नु आवश्यक रहेको बताए । उनले पार्टीले राज्यसत्ताको दमन र प्रतिबन्ध खेपेर आएको भन्दै थारु समुदायको मुक्तिका लागि निरन्तर सङ्घर्ष गर्ने बताए । विश्वासले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको बताउँदै देशको सार्वभौमसत्ता रक्षाका लागि सङ्घर्षलाई जारी राख्ने बताए ।
भेलामा युवा सङ्गठन नेपाल चौंथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा निवर्तमान महासचिव सागर, मगर मुक्ति मोर्चा नेपालका महासचिव एनार्जन, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपालका महासचिव नवीन, अखिल (क्रान्तिकारी) का विरेन्द्रले बोलेका थिए । भेलामा नवनिर्वाचित अध्यक्ष जसवन्त थारूले रूपन्देहीमा थारू समुदायमाथि भइरहेको जातीय विभेद, उत्पीडन र शोषणका विरुद्ध सङ्घर्षलाई तीव्रता दिने बताए ।
जिल्लाका विभिन्न स्थानहरूबाट थारु समुदायको सहभागिता रहेको भेलामा संग्रामी सांस्कृतिक परिवारले ३ वटा नाँच प्रस्तुत गरेको थियो । भेलामा केन्द्रीय महासचिव नवीन थारुले प्यानल प्रस्ताव, जसवन्त थारुको अध्यक्षता, प्रेम चौधरीको सञ्चालन र दुर्गा थारुको स्वागतमा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु