संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारबीच १९ बुँदे सम्झौता

२०७७ माघ ५ गते, सोमबार


काठमाडौँ । संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ । आइतबार बेलुकी १९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोभिड—१९ लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ । साथै कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्तिस्वरुप रु २५ लाखसम्म उपलब्ध गराउने सहमति भएको छ । सम्झौतामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुलाई मृत्युपश्चात् दिइने २५ लाख बराबरको क्षतिपूर्ति सहज रुपले दिने व्यवस्था मिलाउने । मन्त्रिपरिषदको मिति २०७७।०६।०१ को निर्णय बमोजिम २०७७।०४।०१ गते भन्दा पछाडी मृत्यु हुने स्वास्थ्यकर्मीहरुको हकमा २५ लाख क्षतिपूर्ती दिने ब्यबस्था भएको र मिति २०७७।०४।०१ भन्दा अगाडि कोभिडको कारणले वा कोरोना भाइरसको संक्रमणको पहिचान, रोगथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा सलग्न हुनु पर्दा मृत्यु भएका स्वास्थ्यकर्मीहरुको हकमा ब्यबस्था नगरिएको हुंदा मृत्यु भएका स्वास्थ्यकर्मीहरुको संख्या यकीन गरी निवेदन र कार्यालयको सिफारिसको आधारमा क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया मिलाउने ।’
यसअघि नै सरकारबाट स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखिम भत्तालगायत सेवा सुविधा दिलाउने विषयमा सम्झौता भएको बताइएको छ । सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई जोखिम भत्ता, यातायात, संचार र खाजा खर्च दिन सम्बन्धित कार्यालयले आवश्यक ब्यवस्था मिलाउने भएको छ। यसैगरी कोभिड संक्रमित भए पश्चात अशक्तता भएका स्वास्थ्यकर्मीहरुलाई मेडिकल बोर्डको सर्टिफिकेट र सिफारिसको आधारमा बिदा तथा उपचार खर्च प्रदान गर्ने र सो सम्बन्धी निर्णय कार्यान्वयनका लागी निजि तथा सामुदायिक स्वास्थ्य संस्था संचालकहरुलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु