नेकपाका नेता वीरजङ्गलाई बेपत्ता बनाइयो !

२०७७ आश्विन २१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले बेपत्ता बनाएको छ । कोरोनालगायत गम्भीर स्वास्थ्य समस्या झेलिरहेका नेता वीरजङ्गलाई उपचार नगराई आठौँपटक गिरफ्तार गरेर बेपत्ता पारिएको हो । नेता वीरजङ्गलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालतको आदेश लत्याउँदै प्रहरीले बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
नेता वीरजङ्गलाई यसअघि पनि प्रहरीले अदालतको आदेश लत्याउँदै दाङ, काभ्रे, भोजपुर, सुनसरी, ललितपुर, काठमाडौँलगायत ८ जिल्ला घुमाइसकेको छ । उनलाई पछिल्लोपटक श्वासप्रश्वासलगायत घाँटी र छातीमा गम्भीर समस्या देखिएको छ । उनलाई सुनसरी पुर्याउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । परिवारका सदस्यहरूले उनको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यसअघि पनि नेता वीरजङ्गलाई अदालतले राजनीतिक भावनाले प्रवृत्त भई गिरफ्तार गरेर थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो । नेता वीरजङ्गको स्वास्थ्यमा आइतबार गम्भीर समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियोे तर प्रहरीले उपचारकै क्रममा अस्पतालबाट अदालत लगेको थियोे । अदालतले अस्पताल लगी उपचार गराउन आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरी नेता वीरजङ्गलाई बेपत्ता बनाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु