शाहीनबाग – बलराम तिमल्सिना

२०७६ माघ ६ गते, सोमबार

संसारकै सबैभन्दा सुन्दर
सबैभन्दा निडर
सबैभन्दा जाग्रत
र सबैभन्दा वुध्दिमान
एति वेला कुनै नाम छ भने
त्यो हो- शाहीनबाग !

पुस-माघको कठोर ठण्डी
र हिउँदे वर्षाको कठोर प्रहार
प्रहरीको कठोर घेरावन्दी
र स्वेच्छाचारी गिरफ्तारीको आदेश
भोक, जाडो
निद्रा थकाई
र सबैभन्दा ठूलो मृत्युको डर
ती सबैलाई चुनौती बनेर
पहाडझैं अटल र अविचल
सिङ्गै सत्तालाई खवरदारी गर्दै
एउटा नवीन विद्रोहको पूर्वाभ्यासमा
खटिरहेछ डटिरहेछ- शाहीन बाग !

पौने एक सय वर्षको
लामो निद्रापछि ब्युझेको छ
भारतको आधा आकास
र क्रान्तिकारी आभाले
जगमगाएको छ सिङ्गो धरती !

शाहीनबागको मैदानमा छन-
यो शताव्दिकै वुध्दिमान आमाहरू
शताव्दिकै निडर दिदी- बहिनीहरू
र शताव्दिकै सुन्दर छोरीहरू !

समाजको सबैभन्दा पिँधको ढुङ्गो
यसरी हल्लिएको छ कि
रोहोटे पिङ खेलिरहेछ – शासकको दिमाग
यस्तो लाग्छ –
युगौं पसुवत जीवन वाँध्यहरू भित्रबाट
ब्युँझेको छ असली मान्छे
र उसलो खोजिरहेछ –
मान्छे हुनुको अधिकार !

यो हलचल शाहिना बागको
आजको लागि अशुभ संकेत
र भोलिको लागि शुभ संकेत हो !

सामाजिक मर्यादाको
सबैभन्दा पुछारबाट
अर्थात अमर्यादाको लोकबाट
शैक्षिक योग्यताको
परिभाषाले नछुने
अर्थात निरक्षरहरूको संसारबाट
आर्थिक हैसियतको
सबैभन्दा वदनाम प्रदेश
अर्थात भोकाहरूको भूगोलबाट
यसरी सुरु भएको छ झञ्झावात
यसरी गुञ्जिएको छ इनक्लाव
हो यसरी सुरु भएको छ कि-
मर्यादाको शिखरमा हुनेहरू
वदनामीको खाडलमा झरेका छन्
डिग्री धारक महिलाहरू
यिनीहरूका अगाडि
अकडा र अबुझ बनेका छन्
कुलीनहरू यिनीहरूका अगाडि
कायर, लुच्चा र नालायक बनेका छन् !

शाहिन बागका महिलाहरूको
कठोर प्रण र त्यागका अगाडि
सरकारको प्रहरी
वदनाम कम्वल चोरमा फेरिएको छ !

आऊ एक पटक अभिवादन गरौं
शाहीन बागका वीरङ्गनाहरूलाई
आऊ एक पटक प्रेमले हेरौं
शाहीन बागका सुन्दर मान्छेहरूलाई
आऊ एक पटक
सत्तासँग कसरी लड्ने हो
शाहीन बागसँग सिकौं !

शाहीन बाग ओ शाहीन बाग !
तिमीलाई कोटी कोटी सलाम !!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु