भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

२०७६ श्रावण २२ गते, बुधबार

काठमाडौं , २२ साउन । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था कमजोर रहेको जनाउँदै लोकसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेकी थिइन् । २५ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय रहँदै आएकी उनी पटक–पटक सांसद बनेकी थिइन् । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको पहिलो कार्यकालमा उनी विदेशमन्त्री थिइन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘भारतीय राजनीतिको एउटा महान अध्याय समाप्त भएको छ, भारत आफ्नो एक असाधारण नेताको निधनमा शोक मनाइरहेको छ ।’ भारतीय जनता पार्टीका अध्यक्ष एवं केन्द्रीय गृहमन्त्री अमित शाहले पनि स्वराजको निधनबाट आफू निकै दुःखी भएको बताएका छन् ।
कांग्रेस पार्टीका नेता राहुल गान्धीले सुषमा स्वराज विपक्षी पार्टीसँग पनि मित्रता गर्ने नेता रहेको स्मरण गर्दै उनको निधनमा दुःख प्रकट गरेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु