प्रतिबन्धितहरूको प्रश्न – बलराम तिमल्सिना
थरि थरिका फूलहरू
फुल्छन तिम्रा आँगनमा
थरि थरिका बतासहरू
डुल्छन दिलका मझेरीमा
थरि थरिका रङहरू
घुल्छन तिम्रो इन्द्रेणीमा
थरि थरिका ओठहरू
खुल्छन तिम्रा नजिकमा
तिम्रो घरको आँगनमा
जुन फूल फुल्न बन्देज छ
त्यही फूल हुँ म त्यही फूल हुँ !
तिम्रो देशको इन्द्रेणीमा
जुन रङ्ग घुल्न बन्देज छ
त्यही रङ्ग हुँ म त्यही रङ्ग हुँ !
तिम्रो दिलको मझेरीमा
जुन हावा डुल्न बन्देज छ
त्यही हावा हुँ म त्यही हावा हुँ !
तिम्रो मनको मन्दिरमा
जुन ओठ खुल्न बन्देज छ
त्यही ओठ हुँ म त्यही ओठ हुँ !
ओ मान्छे , मान्छे , ओ मान्छे !
यौटा फूल नफुलेर
तिम्रो फूलबारी अपूर्ण छ
यौटा रङ नघुलेर
तिम्रो इन्द्रेणी अधुरो छ
त्यही यौटा बतास नडुल्दा
दिलको मझेरी अतृप्त छ
त्यै यौटा ओठ नखुलेर
तिम्रो मन-मन्दिर अँध्यारो छ !
ओ मान्छे, मान्छे , ओ मान्छे !
मैले मेरा फूलहरूको
छुट्टै फूलबारी बनाए के हुन्छ ?
मैले मेरा रङहरूको
बेग्लै इन्द्रेणी रचे के हुन्छ ?
मैले मेरा बतासहरूको
छुट्टै संसार सोचे के हुन्छ ?
मैले मेरा ओठहरूको
छुट्टै मुस्कान खोले के हुन्छ ?
मान्छे , मान्छे , ओ मान्छे
तिमीले जसरी मैले पनि
आफ्नै वारे सोचे के हुन्छ ?