लाजिम्पाटमा किरियापुत्री घर

२०७५ बैशाख २९ गते, शनिबार

काठमाडौं, २९ वैशाख। कुमारी ढुंगेधारा निर्माण उपभोक्ता समितिले काठमाडौंको लाजिम्पाटमा किरियापुत्री घर सञ्चालनमा ल्याएको छ । स्थानीय बासिन्दाको सक्रियता र सांसद विकास कोषको सहयोगमा निर्माण गरिएको भवनको स्थानीय समाजसेवी एवं युवा समाज सुधार केन्द्रका संरक्षक श्यामबहादुर पाण्डेले उदघाटन गरे । दुईतले भवनमा महिला र पुरुष किरियापुत्रीको लागि छुट्टा–छुट्टै स्थानको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा किरियापुत्रीहरुलाई आवश्यक पर्ने सबै कुराहरुको प्रबन्ध गरिएको छ ।
कार्यक्रममा समाजसेवी पाण्डेले समाज विकासबाट मात्र राष्ट्रिय विकास सम्भव हुने भन्दै सामाजिक काममा सकृय हुन युवावर्गलाई आग्रह गरे । आफ्नो टोल आफै बनाऔं भन्ने अभियान प्रत्येक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । किरियापुत्री भवनमा लाजिम्पाटबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले पनि सुविधा लिन सक्नेछन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मानित गरिएको थियो । भवन १७ लाख ६६ हजार रुपैंयामा निर्माण गरिएको हो ।

प्रतिक्रियाहरु