मेट्रो रेल सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन

२०७३ पुष २४ गते, आईतवार

काठमाडौँ, २४ पुस । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न समिति गठन गरेको हो । समितिले रेल सेवा सन्चालन सम्बन्धी अध्ययन गर्न र सञ्चालन लागतमा कति छुट दिएर कसरी अघि बढाउन सकिन्छ भन्ने कार्यादेश दिएको प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । तीन महिनाको समायावधि दिइएको उक्त समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि रहेका छन् ।
त्यस्तै बैठकले कुनै पनि परियोजनाबाट लगानी बोर्डले लिने शुल्कसम्बन्धी प्रावधान हाललाई पछि सारेर परियोजनासम्बन्धी वार्ता अघि बढाउने निर्णय गरेको उनले बताए ।
बैठकले परियोजना बैंक बनाउन पनि स्वीकृति दिनुका साथै माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको वित्तीय व्यवस्थापन गर्ने समयावधि थपिएको छ । माथिल्लो कर्णालीको एक वर्ष र अरुण तेस्रोको आगामी २०७४ असोज १४ सम्म समयावधि थपिएको हो ।
बैठकले तामाकोसी तेस्रो परियोजनालाई कसरी अघि बढाउनेसम्बन्धी ढाँचाको समेत टुङ्गो लगाएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने बोर्डका सदस्यमा अर्थमन्त्री, वन तथा भूसंरक्षणमन्त्री, उद्योगमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न उद्योग व्यवसायी सङ्गठनका अध्यक्षलगायत रहने प्रावधान छ ।

प्रतिक्रियाहरु