काठमाडौंका चारवटै नाकामा सुरुङमार्ग

२०७३ पुष २२ गते, शुक्रबार

काठमाडौं, २२ पुस । सरकारले काठमाडौंका सडक विस्तार गरी उपत्यकालाई बाहिरी जिल्लासँग सहज पहुँच बनाउने कार्यलार्ई प्राथमिकताका साथ अघि बढाएको छ । यसका लागि सुरुङमार्ग निर्माणमा विशेष जोड दिइएको छ । सडक विभागले काठमाडौंलाई छिमेकी जिल्लासँग सहज पहुँच विस्तार गर्न चारवटा सुरुङ मार्ग निर्माण गर्ने भएको छ । विभागका अनुसार नुवाकोट जोड्ने टोखा-छहरे र पाँचखाल जोड्ने सूर्यविनायक धुलिखेलमा सुरुङमार्ग बनाइनेछ । यी दुवै स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन भइरहेको छ ।
नागढुंगाबाट धादिङको नौविसे नजिक सिस्नेखोलासम्म जोड्ने सुरुङमार्ग निर्माण गर्न सरकारले जाइकासँग ऋण सम्झौता गरिसकेको छ । सीतापाइबाट धादिङकै महेशसफाँट जोड्ने सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई पनि प्राथमिकताका साथ आगाडि बढाइने विभागको भनाइ छ ।
सीतापाइलबाट निर्माण गर्ने सुरुङ मार्गका लागि कुवेती सरकारको अनुदान सहयोगमा सम्भाव्यता र परियोजना अध्ययनसमेत भइसकेको छ । नागढुंगा, सीतापाइला, टोखा र सूर्यविनायकमा सुरुङमार्ग निर्माणपछि काठमाडौं प्रवेशका चारवटै मार्गको प्रवेश सहज हुनेछ ।
विभागको वैदेशिक महाशाखा प्रमुख संजयकुमार श्रेष्ठका अनुसार नेपालकै खर्चमा सबै ठाउँमा सुरुङ र फ्लाईओभर बनाउन नसकिने भएकाले पनि दातृ निकायको सहयोग लिइनेछ । उनका अनुसार सीतापाइला र नागढुंगाको सुरुङमार्ग निर्माणमा दातृ निकायले चासो देखाएको छ ।
टोखा र सूर्यविनायकमा पनि दातृ निकायकै सहयोगमा सुरुङमार्ग निर्माण गर्ने योजना छ । उपत्यकाको सडक क्षमता विस्तार र स्तारोन्नतिकै निम्ति काठमाडौंका सडकमा फ्लाईओभर र अन्डरपासलाई पनि प्राथमिकता दिन थालिएको छ ।
विभागले माइतीघरदेखि त्रिपुरेश्वरसम्मको एक किलोमिटर फ्लाईओभर निर्माणको अध्ययन गरिरहेको छ । कलंकीमा भने करिब एक किलोमिटरको अन्डरपास निर्माणको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो अन्डरपास आगामी एक वर्षभित्रै निर्माण पूरा हुने गरी काम भइरहेको सडक विभागको भनाइ छ ।
काठमाडौं-नुवाकोटमा बैंकको रुचि
काठमाडौंकै टोखा-छहरे सुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले लगानीका लागि रुचि देखाएको छ । नेपाल पनि संस्थापक सदस्य रहेको यो बैंकले करिब चार देखि ६ किलोमिटर सुरुङमार्ग निर्माण गरेर काठमाडौं-नुवाकोट प्रवेश छिटो बनाउने प्रयास गरिरहेको छ ।
उपत्यकाको सडक क्षमता विस्तार र स्तारोन्नति गर्न काठमाडौंका सडकमा फ्लाईओभर र अन्डरपासलाई पनि प्राथमिकता दिन थालिएको छ ।
यो सुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुवागढीसम्म स्तरीय सडकमार्ग निर्माणको काम पनि सरकारी प्राथमिकतामा परेकाले यो सडक निर्माण भए काठमाडौंबाट रसुवागढी हुँदै चीनसम्मको नाकाको पहुँच आधा घन्टाको यात्रामै हुनेछ ।
यो मार्ग बन्यो भने भारतसँगको परनिर्भरता पनि हट्ने भएकाले विशेष महत्व दिइएको सडक विभागको भनाइ छ । सुरुङमार्ग निर्माण गर्न लागतअनुमान र सम्भाव्यता अध्ययन बाँकी छ । एक किलोमिटर बनाउन करिब पाँच अर्ब रुपैयाँ खर्च लाग्नेछ ।
विभागका अनुसार राजधानीमै आवश्यकता बढेको मेट्रो रेल, विभिन्न चौबाटोमा ओभरफ्लाई र अन्डरपास अहिलेको आवश्यकता हो । सम्भव भएसम्म सबै विकास निर्माण प्रक्रियालाई आत्मसाथ गर्दै जानुपर्ने भएकाले पनि आवश्यक पूर्वाधार एकपछि अर्को निर्माण गर्दै जाने रणनीति विभागको छ । विभागका अनुसार आवश्यकता हेरेर सबै विकास निर्माणको ठूलो योजनाले गति लिने पनि उल्लेख छ ।
सूर्यविनायक-धुलिखेलमा पनि सुरुङमार्ग
सूर्यविनायक-धुलिखेल सडकमा पनि कम्तीमा तीन सय मिटरको सुरुङमार्ग निर्माण गरिनेछ । विभागका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडक धेरै घुम्ति र जोखिमपूर्ण भएकाले सुरुङमार्गको परिकल्पना गरिएको हो । यो सडकमा निर्माण हुने सुरुङमार्गका विषयमा पनि सडक विभागले दातृ निकायसँग छलफल गरिरहेको छ ।
विभागका अनुसार छाटो सुरुङमार्गमा मोटरसाइकल प्रवेश गर्न पाउँछन् भने आधा किलोमिटरभन्दा लामो सुरुङमार्गमा निषेध हुन्छ । सुरक्षाको दृष्टिले पनि संसारभर नै सुरुङमार्ग र द्रुत गतिको हाइवेमा मोटरसाइकल प्रवेश गर्न पाउँदैनन् ।
नेपालमा निर्माण हुने सुरुङमार्गमा पनि आधा किलोमिटरभन्दा लामो भएको अवस्थामा मोटरसाइकल र अन्य थोत्रा र सुरक्षा संवेदशीलताका सवारीसाधन प्रवेश निषेध हुनेछ ।- राजु बास्कोटा

प्रतिक्रियाहरु