उन्नाइस हजार बढीले सम्पत्ति विवरण बुझाएनन्

२०७३ पुष २० गते, बुधबार

काठमाडौँ, २० पुस । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पति विवरण बुझाएको केन्द्रले जनाएको छ ।
यसरी समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु