भारतबाट आएको बिजुली काठमाडौंमा

२०७३ पुष १८ गते, सोमबार

काठमाडौं, पुस १८ । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने भएको छ । हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइन मंगलबार चार्ज गरिने जानकारी दिए । वि.सं. २०६८ बाट सुरु भएको सो प्रसारणलाइनमुनि पर्ने जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । वि.सं. २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँ–बायाँ ९–९ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दै आएको थियो । काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारणलाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो । ‘मंगलबार हामी प्रसारणलाइन चार्ज गर्दैछौं, अब भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन सहज हुने विश्वास लिएका छौं’–आयोजना प्रमुख सिलवालले भने ।
प्रसारणलाइन निर्माणका लागिमात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिलवालको भनाइ छ ।
भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । तर, मातातीर्थ–स्यूचाटार प्रसारणलाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ । प्रसारणलाइनको दायाँ–बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौतीमुक्त अभियानमा सो प्रसारणलाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।
उता, भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारणलाइन खिम्ती–ढल्केबर प्रसारणलाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवकाअनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौंमा विद्युत् ल्याउने यो अर्को प्रसारणलाइन हो । विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारणलाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो ।
भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारणलाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ । यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारणलाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै, ढल्केबरमा निर्माणकोक्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।हिउँदलाई मध्यनजर गरेर काठमाडौंमा सहजरुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । – रमेश लम्साल (रासस):

प्रतिक्रियाहरु