पद्मसुन्दर लावतीको सालिक र पार्क निर्माण सुरु

२०७३ आश्विन १९ गते, बुधबार

काठमाडौँ, १९ असोज । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसक्नुभएका लावतीको फिदिमबजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो । सालिक निर्माणको जिम्मा लिएको सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाइसकिएको र सदरमुकाम फिदिममा पनि बनाइएको हो । अहिले सालिक र पार्क गरी करिब २५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।
आगामी कात्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिने संयोजक आलेले बताउनुभयो । पार्क र सालिक निर्माणका लागि फाल्गुनन्द संरक्षण प्रतिष्ठानले एक लाख ५० हजार रुपैयाँ सहयोगसमेत गरिसकेको छ ।
समितिले सालिक र पार्क निर्माणका लागि करिब सात लाख रुपैयाँ जति लाग्ने जनाउँदै स्वेच्छिक सहयोग गर्नसमेत सम्पूर्ण सङ्घसंस्था तथा महानुभावलाई आग्रह गरेको छ । जिल्लाको विकास निर्माणमा लावतीको योगदान अतुलनीय रहेको जिल्लावासी बताउने गर्दछन् । पूर्वगृहमन्त्री स्व लावतीको निधन २०७२ जेठ २७ गते भएको थियो ।- रासस

प्रतिक्रियाहरु