विद्युतीय पुस्तकालय स्थापना

२०७३ आश्विन १९ गते, बुधबार

काठमाडौं, १९ असोज । नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालयमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ । उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिए । उनका अनुसार सोमबारदेखि सञ्चालनमा आएको विद्युतीय पुस्तकालयको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अध्यक्ष शेष घलेले उद्घाटन गरे । उनले पुस्तकालयका लागि रु दुई लाख आर्थिक सहयोग पनि गरेका छन । उद्घाटनपछि सङ्क्षिप्त मन्तव्य दिदै घलेले सामूहिकताले मात्रै समाजको विकास हुने भएकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले रामेश्वर पुस्तकालयलाई नमुनाका रुपमा विकास गर्ने प्रयास जारी रहेको बताए । विसं २०५५ सालमा स्थापना भएको उक्त पुस्तकालयमा धर्म, दर्शन, सामान्य ज्ञान, सामाजिक विज्ञान, भाषा, शुद्धविज्ञान प्रविधि कला, साहित्य, इतिहास तथा भूगोलसम्बन्धी सयाँै पुस्तक राखिएका छन् । यो पुस्तकालय सञ्चालनका लागि आर्थिक जोहो गर्न यहाँ २०६८ सालमा महायज्ञसमेत गरिएको थियो । चितवनका स्कुलमा विद्युतीय पुस्तकालयका लागि नेपाल सरकारले नै अनुदान दिँदै आएको भएपनि आर्थिक अभावका कारण बाह्य पुस्तकालय धेरैजसोमा ई–लाइब्रेरी बनाउन सकिएको छैन । स्कुलमा धेरै पुस्तकालयमा भने ई–लाइब्रेरी सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको भनाइ छ ।
रत्ननगरको रोटरी लाइब्रेरी, झुवानी सामुदायिक पुस्तकालय, दोभान पुस्तकालय, माडीको गर्दीलगायत केही पुस्तकालयले नमुना काम गरिरहेका भएपनि केही पुस्तकालयको अवस्था भने नाजुक छ । भरतपुर लङ्कुको ज्ञानज्योति पुस्तकालयलाई हार्डवेयर गोदाम बनाएर राखिएको पाइएकाले यहाँका कतिपय पुस्तकालयको अवस्था जीर्ण भएको छ ।

प्रतिक्रियाहरु