औषधि विभागका कर्मचारी लागूऔषध कारोबारमा संलग्न

२०७३ आश्विन १४ गते, शुक्रबार

काठमाडौँ, १४ असोज । लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो । यसअघि लागूऔषधको कच्चा पदार्थ स्युडो आयातमा विभागका कर्मचारीकै संलग्नता रहेको पाइएको थियो ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार विभागको दर्ता शाखामा कार्यरत ३२ वर्षीय सुनिल गुप्ताले हेरोइन बिक्री वितरणका लागि विभागलाई भण्डार केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए । गुप्ता पानस फर्मास्युटिकल्ससँग पनि सम्बद्ध छन् ।
गत मङ्गलबार जयबागेश्वरीबाट सात ग्राम खैरो हेरोइनसहित पक्राउ परेका २७ वर्षीय सूर्य संगतको बयानका आधारमा ब्युरो प्रहरीले बुधबार गुप्तालाई ५.५ ग्राम हेरोइनसहित तिलगङ्गाबाट पक्राउ गरेको थियो ।
नेपालगञ्ज स्थायी घर भएका गुप्ताले विभागका कर्मचारीको आवरणमा लागूऔषध आयात गरी नेपालगञ्ज र काठमाडौँमा बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुमान छ । गुप्ताले नै संगतलाई एजेन्टका रूपमा नियुक्त गरी बिक्रीका लागि हेरोइन दिने गरेका थिए ।
तर, संगत पक्राउ परेपछि संगतकै बयानका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । उनको नियन्त्रणपछि विभागमा रहेको पानस फर्मास्युटिकल्सको दराजभित्र लुकाइराखेको अवस्थामा २२ ग्राम हेरोइन र डिजिटल तराजु बरामद भएको हो ।
ब्युरो प्रमुख चन्द भन्नुहुन्छ, “यो घटनाले लागूऔषध नियन्त्रणका विषयमा नयाँ बहस प्रारम्भ गरेको छ । नियमन निकायका केही कर्मचारी नै यस्तो अवैध काम गर्छन् भने नियन्त्रण कसरी हुन्छ ? नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था आएको छ ।”
ब्युरो प्रहरीले विभागका कर्मचारी गुप्तासँगै उनका एजेन्ट संगत, गुप्तासँग हेरोइन खरिद गर्न नेपालगञ्जबाट काठमाडौँ आएका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंह पनि गौशालास्थित साउथ एसिया गेस्ट हाउसबाट नौ ग्राम हेरोइन र ६४ हजार नगदसहित पक्राउ परेका छन् ।
उनीहरूले सो लागूऔषध गुप्ताबाट खरिद गरेको बयान प्रहरीलाई दिएका हुन् । पक्राउ अभियुक्त पाँच जनाको साथबाट एकमुष्ट ४३.३ ग्राम हेरोइन र ६८ हजार नगद बरामद भएको ब्युरोले जनाएको छ ।
यसअघि सङ्घाई समूहद्वारा सञ्चालित आर्य फर्माका लागि आवश्यकताभन्दा बढी कच्चा पदार्थ स्युडो निर्यातमा विभागकै कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको पाइएको थियो । लागूऔषध एम्फेटामाइन बनाउन प्रयोग हुने स्युडो आर्य फर्माले अवैध रूपमा विदेशमा बिक्री वितरण गर्ने गरेको थियो ।
सोही मुद्दामा रतन सङ्घाईसहित पाँच जनालाई ब्युरो प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ भने पवन सङ्घाई फरार छन् । सो घटनामा विभागकै कर्मचारीको मिलिमतो रहेको स्वयं विभागले नै स्वीकारेको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले लागूऔषध घटनामा कर्मचारी मुछिनुका पछाडि विभागको कमजोरी भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो– अनुगमन गर्न सकिएन, यसमा त्रुटि भयो । – देवबहादुर कुँवर, गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु