मार्पाक दुर्घटनामा १९ को मृत्यु

२०७३ आश्विन ११ गते, मंगलवार

काठमाडौँ, ११ असोज । धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रु बस मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये हालसम्म १३ जनाको सनाखत भएको छ । सनाखत हुनेमा सत्यदेवी गाउँ विकास समिति–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ वर्षीय छोरा छन् । यस्तै, सत्यदेवी–३ का तिलबहादुर तामाङ, री–८ का चन्द्रमान तामाङ, मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दिल कुमारी पौडेल, उनकी छोरी कमला पौडेल र बसका चालक गोरखाका गंगा सुनार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । गम्भीर अवस्थाका उनीहरुलाई नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
आज धादिङबेसीबाट ३१ जना यात्री लिएर गएको बस बिहान साढे ११ बजे मार्पाक गाउँ विकास समितिको वडा नम्बर–५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ ३ सय मिटर तल खसेको हो । ३१ जनाको यात्रीको चलानी लिएर गाउँ हिँडेको बसमा छतमासमेत खचाखच यात्री राखिएको थियो । पहिरो गएर थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउनेक्रममा सो दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रियाहरु