यातायातमा सुधार गर्न चारबुँदे निर्देशन

२०७३ भाद्र ६ गते, सोमबार

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्नेलगायत चारबुँदे निर्देशन दिएका छन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई सोमबार बिहान निवासमा बोलाइ प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनओटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन ।
सो अवसरमा प्रधानमन्त्री दाहालले ‘उपत्यकामा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन भक्तपुरमा एक र काठमाडौंमा दुई गरी तीन यातायात व्यवस्था कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्’–उनको निर्देशन उद्धृत गर्दै स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले राससलाई जानकारी दिए ।
सवारीचालक अनुमतिपत्रको लिखित परीक्षाका लागि विद्यालय, क्याम्पसको भवन भाडामा लिएर ६ महिनामा एकैचोटी चार।पाँच हजारको संख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारामको व्यवस्था गर्न, नवीकरण, ‘रुट परमिट’लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, क्याम्पसका स्वयंसेवा गर्न चाहने विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिए । सो अवसरमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको स्वकीय उपसचिव तिमल्सिनाले बताए । – रासस

प्रतिक्रियाहरु