दश वर्षे बालकले हजुरआमाको हक दिलाए

२०७३ असार २७ गते, सोमबार

काठमाडौ, २७ असार । ‘मेरो बुबाले रामलिला खेल्दै अर्कै आइमाई लिएर जानुभयो, आमाले पनि अर्को केटासँग विवाह गरेर हामीलाई छोड्नुभयो, यति मात्र होइन आमाको नयाँ लोग्नेले मावलीतर्फका हजुरबासँग पटक पटक गरी ६० हजार ठगेर हजुरआमाको नाममा रहेको सात कठ्ठा जग्गा अर्कैको नाममा बेचिदियो । ए हजुर, त्यो जग्गा फिर्ता गराई पाउँ ।’
आमाबुवाबाट ठगिएका एउटा १० वर्षे वालक यस्तो गुनासो लिएर एक हप्तादेखि प्रायः इलाका प्रहरी कार्यालय लहानमा धाइरहन्छन् । सो कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक पाँचु चौधरीलाई भेट्छन् र आमाको नयाँ लोग्ने मइतराम मोचीले आमा सनैचरीमार्फत मावली हजुरआमालाई ठगेर अरुलाई बेचेको सात कठ्ठा जग्गा फिर्ता गराइदिन अनुरोध गर्दछन् तर लहानका मुद्दा फाँटका अधिकृतहरू घटनाको गाम्भिरता बुझ्नु भन्दा बालकको तार्किक क्षमतामै रमाइरहन्छन् ।
लहान नगरपालिका–१५ स्थित ढोढनाको मोहनपुरमा बृद्ध हजुरबुवा र हजुरआमासँगै बस्ने १० वर्षीय वालक विद्यानन्द महतोको उजुरीमाथि त्यतिखेर मात्र सुनुवाई भयो, जब पटक पटक प्रयास गर्दा उनले इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार केसीलाई भेट्न पाए ।
प्रनाउ केसीले तत्कालै जग्गा ठग्ने मइतराम मोचीलाई पक्राउ गरेर घटनाबारे यथार्थ बुझेर आवश्यक कारबाही गर्न एउटा टोली नै खटाउनुभयो ।
टोलीले मइतरामलाई पक्रेर गरेको छानवीनमा बालक विद्यानन्दको उजुरी सही सावित भएपछि जग्गा ठग्ने प्रक्रियामा लागेका सबैलाई धरपकड गर्न सक्रिय भएपछि सो कार्यमा संलग्न सबै जना तत्कालै प्रहरीको सम्पर्कमा आए ।
त्यसपछि शनिवार दुवै पक्षबीच भएको छलफलमा विद्यानन्दको हजुरआमाको नाममा रहेको सात कठ्ठा जग्गा सोमबारभित्र फिर्ता गर्ने सहमति भएपछि मात्र विद्यानन्दले राहतको सास फेरे ।
तीन बहिनीका एक मात्र दाजु विद्यानन्द र उनकी आमालाई विद्यानन्दका बुवा मङ्गल महतोले छोडेपछि उनीहरूसबै ढोढनाको मोहनपुरमा रहेका हजुरबुवा र हजुरआमाको शरणमा आइपुगेका थिए । गाउँघरमा सामान्य किराना पसल गर्ने हजुरबुवालाई सहयोग गर्न १० वर्षे वालक विद्यानन्द कहिले लहानको कपडा पसलमा त कहिले म्याजिकको खलासीको काम गर्दथे ।
त्यसैबीच उनकी आमा सनैचरी पनि गोलबजारका मइतराम मोचीसँग नयाँ जीवन शुरु गरिन । त्यसपछि कहिलेकाहीं मोहनपुर आउने सनैचरीले पटक पटक विभिन्न बहानामा आफ्नो बुवासँग ६० हजार रुपियाँ ठगेर लगिन्, यति मात्र होइन, आमाको जिउनीको भागमा परेको मोहनपुरकै सात कठ्ठा जग्गाको जग्गाधनीपुर्जा लुकाएर लगी आमा र बुवालाई मालपोतमा बोलाइन् ।
मालपोतमा मइतरामले सनैचरीकी आमालाई ५० हजार दिने भन्दै जग्गा नामसारी गराउँदै गर्दा बालक विद्यानन्दले थाहा पाए र दर्गुदै आएर हजुरआमालाई जग्गा नामसारी नगर्न आग्रह गरे ।
तर उनको यो प्रयास ढिलो भइसकेको थियो । मइतरामको जालसाजीले जग्गा अर्कैको नाममा नामसारी भइसकेको थियो । त्यतिखेरै विद्यानन्दले फाँटमा गएर बुझे, जग्गाको थैलीमा त तीन लाख रुपियाँ पो लेखिएको रहेछ ।
हजुरआमाको नामको जग्गा झट्केलो बाबु मइतरामले तीन लाखमा अर्कैलाई बेचेर रकम समेत हडपेपछि बालक विद्यानन्द मइतरामलाई पक्रेर गुहार माग्दै गोलबजार पुगे । गोलबजार प्रहरीले मइतरामलाई पक्रेन बरु विद्यानन्दलाई दुई÷तीन दिन धाउन लगाएर लहान पठायो ।
लहानमा पनि विद्यानन्दले निकै धाउनुप¥यो । त्यहाँ त घटनाको गाम्भिर्यता बुझ्नुभन्दा १० वर्षे वालक विद्यानन्दको वाकचातुर्यता र प्रस्तुतिमै रमाउन थाले प्रहरी निरीक्षकसम्मका अधिकृतहरू। विद्यानन्दको प्रयास तब मात्र सफल भयो जब उनले स्थानीय सञ्चारकर्मीहरुसँगै प्रहरी नायव उपरिक्षक राजकुमार केसीलाई भेटे ।
चारैतर्फबाट ठक्कर खाएको बालकको कुराले हाम्रो मन चसक्क खाएको थियो, लहान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार केसीले भन्नुभयो, देवानी प्रकृति भए पनि यसमा ठगी र जालसाजी पनि समावेश भएको देखिन्छ, त्यसैले मइतरामलाई पक्रनुको साथै सरोकारवाला अन्य व्यक्तिलाई पनि हामीले बोलाएर यसबारेमा छलफल राख्यौ ।
छलफल साकारात्मक मोडतर्फ अगाडि बढेको छ, उहाँले भन्नुभयो–मइतरामले लिएको रकम नयाँ जग्गाधनीलाई फिर्ता गर्ने र नयाँ जग्गाधनीले विद्यानन्दका हजुरआमाकै नाममा जग्गा सोमबारभित्र फिर्ता गर्ने सहमति भएको छ नत्रभने यसमा संलग्न सबैलाई कानूनअनुसार कारबाही गर्ने प्रक्रियामा जानेछौं । – सन्तोष सुवेदी, गोरखापत्र

प्रतिक्रियाहरु